कार्यान्वयन हुने योजनामात्र छनौट गर्न नगरपालिकालाई दलका नेताहरुको सुझाव…….

2021-06-09 मा प्रकाशित

मेचीनगर, २६ जेठ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नगरमा सञ्चालन हुने योजनाहरुलाई प्राथामिकताका आधारमा अघि सार्न मेचीनगर नगरपालिकाभित्रका सक्रिय राजनीतिक पार्टीलाई आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रमका लागि राजनीतिक दलसँग सुझाव संकलन गर्ने उद्घेश्यले बुधबार काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख आचार्यले त्यस्तो आग्रह गरेका हुन् । स्थानीय सरकारले अघि बढाउने आयोजनाहरुमा नगरमा क्रियाशील राजनीतिक दलहरुको भूमिका उच्च हुने भएकाले साथ सहयोगको अपेक्षा गदैं नगरप्रमुख आचार्यले अहिले पनि विभिन्न ठाउँमा योजना कार्यान्वयन गर्ने क्रममा स्थानीयको अवरोधका कारण गौरवका योजनाहरु अलपत्र भएको भन्दैं त्यसमा राजनीतिक दलहरुले भूमिका खेल्नुपर्नेमा जोडदिए ।

उनले स्थानीय सरकारले विगतदेखि वर्तमानसम्ममा भए गरेका कामका बारेमा प्रष्ट पारेका थिए । विगतमा जे जसरी योजना छनौट भए र त्यसले अहिले के कस्तो परिणाम दियो त्यसलाई हेरेर समयमै सकिने, उपलब्धिमुलक र परिणाम दिने योजना अघि सार्नुपर्ने नगरप्रमुख आचार्यको जोड थियो । अहिले पनि फोहोर मैला व्यवस्थापनको योजना पुरा गर्न बाँकी रहेको भन्दैं उहाँले नगरलाई समृद्घ नगर बनाउन नगरका क्रियाशील दलले भूमिका खेल्नु पर्ने बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चालु आर्थिक वर्ष २०७७÷२०७८ मा अधुरा रहेका नगरका गौरवका योजनाहरुलाई प्राथमितामा राखेर निरन्तरता दिने बताइन् ।उनले अहिले सवै संयन्त्र कोभिड १९ को नियन्त्रण र रोकथाम तथा संक्रमितहरुको उपचारमा सक्रिय रहेकाले समयमै योजनाहरु पुरा गर्न नसकिएको उनको भनाई थियो । नगर उपप्रमुखको संयोजकत्वमा रहेको स्थानीय राजश्व परामर्श समिति मार्फत राजश्वका दर, क्षेत्र तथा आन्तरिक आयको विश्लेषण तथा अनुमान, नगर प्रमुखको संयोजकत्वमा रहेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति कार्यपालिका मार्फत आगामी वर्षको मार्ग दर्शन तथा वडा भेला तथा वडा समितिको वैठक मार्फत वडास्तरीय योजनाको छनौट तथा प्राथमिकता निर्धारणका बारेमा उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

अहिले कोभिड १९ को महामारीका बखत सर्वसाधारणले अस्पतालमा औषधि, अक्सिजन भेन्टिलेटर नपाएर अकालमै ज्यान गुमाउनु परेको भन्दैं छलफलमा सहभागीहरुले आगामी दिनमा यस्तो समस्या निम्तीन नदिनका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷२०७९ का लागि प्रस्तुत गर्ने बजेट तथा नीति कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न जोड दिएका थिए ।

सहभागीहरुले स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सुझाव दिएका छन् शिक्षा,कृषि, पर्यटनलगायतका योजनालाई पनि संगसँगै लैजान उनीहरुो जोड थियो । चालु आर्थिक वर्ष २०७७÷२०७८ का धेरै योजनाहरु समयमै सम्पन्न हुन नसकेको तथा असफल भएको भन्दैं सहभागीहरुले योजना छनौट गर्दा तत्काल कार्यान्वयन हुने मात्र गर्नुपर्ने सुझाव नगरपालिकालाई दिएका थिए । अहिले पनि नगरका थुप्रै गौरवका योजनाहरु अधुरा रहेका केही कार्यान्वयन समेत हुन नसकेका भन्दैं उनीहरुले त्यस्ता गौरवका योजनाहरुलाई आगामी आर्थिक वर्ष २०७८÷२०७९ मा निरन्तरता दिन सुझाव दिए । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनामा त्रिपक्षीय सम्झौता भइसकेको अवस्थामा यसलाई कुनै पनि हालतमा फिर्ता हुने वातावरण नबनाउन पनि सुझाँव दिएका थिए । पहिचान भएको नगरको अग्रणी क्षेत्रहरु कृषि, उद्योग र पर्यटनको समुचित विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भएपनि कृषि योग्य भूमि भएर पनि पर्याप्त सिञ्चाईको सुविधा नहुनु तथा कृषकहरुमा ब्यवसायिक कृषि प्रणालीको ईच्छामा कमि र छिमेकी मुलुकको वजारसंग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नुले यो पेशाबाट पर्याप्त फाइदा लिन सकिएको भन्दैं कृषकहरुलाई दिने अनुदानमा न्यायोजित वितरण ध्यान दिन सहभागीहरुले सुझाँव दिएका थिए ।

पर्यटन विकासको प्रचुर संभावना हुदाँहुँदै पनि ती क्षेत्रको अन्य क्षेत्रमा पर्याप्त प्रचार प्रसार भई नसकेको अवस्थाले पर्यटन विकासलाई ओझेलमा पारेको र स्थानीय समुदायमा पर्यटन विकासको महत्व, संभावना र सीपलाई निजी क्षेत्रले समयमा नै बुझ्न नसक्दा नगर पर्यटकहरुको केवल आवागमनकोद्वार मात्र बनेको विचार राखेका थिए । नगरले पर्यटन क्षेत्रमा विकास गर्न यहाँको प्राकृतिक सम्पदाहरुको विकास, प्राचीन सम्पदाहरुमा संरक्षण र पूर्वाधारको विकास गर्न लगानी गर्ने निकाय र निजी क्षेत्रहरुलाई सामेल नगरी सम्भव नदेखिने सहभागीको भनाई थियो । नगरमा कर बृद्घिले नकरात्मक सन्देश जाने भएकाले करमा बृद्घि गर्नुभन्दा करको दायरा बढाउनुपर्ने, अहिले कोभिड १९ का कारण सवैक्षेत्र बन्द रहेकाले कुनै पनि जरिवाना लिन नहुने, विद्युत तथा खानेपानीको महशुलमा छुटको व्यवस्था गर्नुपर्नेलगायतका विषयमा सहभागीहरुले सुझाँव दिएका थिए । हरेक वडामा सहकारीसँग समन्वय गरेर अघि बढ्न, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्न,पशु विमा र कृत्रिम गर्भाधान, बाली विमा, प्राधिकरण गठन लगायतका विषयलाई नीति र कार्यक्रममा सम्बोधन गर्न सहभागीको सुझाँव थियो ।

छलफलमा नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, मेचीनगर इञ्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष खेमराज पोखरेल, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती मेचीनगर सचिवद्वय बशन्त ‐बुद्घ) तिवारी, हस्तबहादुर आङ्गदेम्बे, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष पुष्प गुरागाईँ, जिल्ला सदस्य राजकुमार दाहाल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका जिल्ला सदस्य सुशील आचार्यलगायतले आ—आफ्नो सुझाँव दिएको नगरपालिकालका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगरपालिकाका विभिन्न गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएका थिए । मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सहभागीहरुको सुझाँवलाई लिपीबद्घगरेका थिए । यी सुझावलाई अध्ययन गरी कार्यपालिकाको बैठकमा छलफल गरेर आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट तथा नीति कार्यक्रममा समेट्ने बताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु