नदीजन्य पदार्थ उत्खनन , दोषी देखिए कारवाही हुन्छ : नगरप्रमुख आचार्य

2021-06-09 मा प्रकाशित

मेचीनगर, २६ जेठ। मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजश्व संकलनमा भएको भनिएको चुहावटमा जनप्रतिनिधिदेखि जो कोहीको पनि संलग्नता भए कारवाही गर्ने बताएका छन् ।

केहीदिनदेखि निक्कै चर्चामा रहेको मेचीनगरको नदी उत्खनन अनियमितताका बारेमा थप जानकारी दिने उद्घेश्यले बुधबार नगरपालिका परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो गैरकानुनी काम गर्ने जो सुकै भएपनि कारवाहीबाट उन्मुक्ती नपाउने उनको भनाई थियो । राजश्व छलिमा संलग्नको यकिन ब्यक्तिहरु पत्ता लगाउनकै लागि अख्तियार गुहार्नु परेको उनले बताए ।

नगर प्रमुख आचार्यले नगरपालिकाको तर्फबाट गठित छानवीन समिति तथा उपसमितिको प्रतिवेदनमा खास गरेर रसिद छपाइएको बिषयमा अनियमितता भएको तथ्य फेला परेको स्वीकार गर्दै त्यसमा संलग्नको तथ्यगत पहिचान गर्ने कार्य भइरहेको बताए ।

नगर स्तरीय अनुगमन समितिकी संयोजक मीना पोख्रेल उप्रेतीले वडा नम्बर ११ का अध्यक्ष सन्तोषकुमार मेचेको संयोजकत्वमा गठित छानवीन उपसमितिले तयार पारेको प्रतिवेदनमा नगरपालिकाले रसिद छाप्न दिएको अख्तियारी मिति भन्दा अगाडिदेखिनै किर्ते रसिद छापेर राजश्वय संकलन गरिएको प्रतिवेदन बुझाएको भन्दै राजश्व संकलनमा अनियमितता भएको देखिएको बताइन् ।उनले नदीजन्य पदार्थ उत्खनन संकलन सम्बन्धमा प्राविधिक कर्मचारीसहितको अनुगमन समितिले स्थलगतरुपमा अनुगमन गरी बुझाएको प्रतिवेदनमा अनुमती दिएको भन्दा बढी उत्खनन गर्ने निर्माण व्यवसायीहरुलाई जरीवानासहित असुल उपर गर्न रकम जम्मा गर्न लगाइएको स्पष्ट पारिन् ।

स्थलगत अनुगमन समितिले बुझाएको प्रतिवेदनमा पाँचवटा निर्माण व्यवसायीहरुले अनुमती दिएको भन्दाबढी उत्खनन गरेको उल्लेख छ । अनुमती भन्दा बढी सामग्री उत्खनन गर्ने उद्योगीहरुमा निन्दा–शान्तिवाटिका उत्तर खण्ड ख बाट स्वरोजगार मार्ग उपभोक्ता समितिले १९ हजार ६ सय ३३ दशमलव २८ घनमिटर, खवासबाडी क्षेत्रबाट जयराम तिम्सिना उद्योगीबाट १२ हजार ५ सय २७ दशमलव २२ घन मिटर, निन्दा मलेगाउँ क्षेत्रबाट पाथीभरा क्रसिङ्ग एग्रीगेटबाट २ हजार ६ सय ५६ दशमलव ७६ घन मिटर मेची नदी काली मन्दिर क्षेत्रबाट होटल अश्वस्थ उद्योगले १ हजार १ सय ४४ दशमलव ५ घन मिटर र हडिया क्षेत्रबाट पूर्वाञ्चल निर्माण सेवाले १ सय घन मिटरबढी परिमाणमा पदार्थ उत्खनन गरेको उल्लेख छ । यसरी हेर्दा ५ वटा उद्योगले ३५ हजार ९ सय ३२ दशमलव ७६ घन मिटरबढी नदी जन्य पदार्थ संकलन गरिएको देखिएको छ ।

साथै दुईवटा निर्माण व्यवसायीले भने अनुमती दिए भन्दा कम पदार्थ संकलन गरेको उल्लेख छ । जसमा पूर्वाञ्चल निर्माण सेवाले टिमाइ क्षेत्रबाट ४ हजार ६ सय ३० घन मिटर र चेसुङ्ग एण्ड सेसेमा कन्स्ट्रक्सनले हडिया क्षेत्रबाट ३ हजार ७ सय ८८ दशमलव ८ घन मिटर कम उत्खनन् गरेको उल्लेख छ ।

त्यस्तै नगरपालिकाले अनुमती दिएका सबै उत्खनन संकलन क्षेत्रमा संकलन नगरी एउटै क्षेत्रमा बढी उत्खनन र गहिराईसम्म उत्खनन गरी वातावरणीय प्रभाव मुल्यांकन विपरीत कार्य गर्ने पूर्वाञ्चल निर्माण सेवा र कञ्चनजंघा क्रसर उद्योगलाई एक÷एक लाखको दरले जरिवाना गरिएको उल्लेख छ ।

सोही अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले मेचीनगरमा अनुमती दिइको भन्दा अन्य क्षेत्रबाट नदी जन्य सामग्री उत्खनन गर्न दिने कार्यलाई आगामी दिनमा पूर्ण प्रतिबन्ध लगाइनेबताए । उनले प्राविधिक टोलीको अध्ययन बिना जहाँसुकैबाट नदी जन्य सामग्री उत्खनन गर्ने कार्यलाई आगामी वर्षबाट बन्द गरिने बताए।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु