मेचीनगर द्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण

2021-08-01 मा प्रकाशित

मेचीनगर, १७ साउन ÷कृषकहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ नगरपालिकाले कदम चालेको बताउनुभयो । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँका किसानहरुलाई लागतको ५० प्रतिशत अनुदानमा आधुनिक कृषियनत्र औजार वितरण गरेको हो । नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ ।

आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा उनीहरुलाई हाते ट्याक्टर २७, कुटि काट्ने मेशीन ४७, मकै गोड्ने मेसीन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसीन र साइलेज कटर एक ÷ एकवटा वितरण गरिएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख आचार्यले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानइ सरकारले राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्राङरकि मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । अब कृषि पेसालाई प्रोत्साहन गर्दै कृषिलाई आधुनिक व्यावसायिक र व्यवस्थित गर्न राज्यले निरन्तर रूपमा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयन पनि गर्नुपर्ने उहाँको भनाई छ । कृषि क्षेत्रमा व्यवस्थित गर्न कार्ययोजनासहित बजेट व्यवस्थापन गरेको उपप्रमुख उप्रेतीको भनाई छ ।

यसबाट नगरका धेरै कृषकहरु लाभान्वित भएको नगरपालिकाका कृषि प्राविधिक टेकेन्द्र प्रधानले जानकारी दिनुभयो । परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।

कृषि मजदुर र खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टर, धान रोपाइँ मेसिनदेखि बाली भित्रयाउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेको नगरपालिकाका कृषि प्राविधिक कविता पौडेलले जानकारी दिनुभयो ।कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीका लागि किसानहरूलाई सहज पनि भएको तथा उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको कृषकहरुको भनाई छ । कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्रियाउन सहज भएको छ ।

खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुग्न थालेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ । पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्ने जस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन् । यसकारण पछिल्लो समय किसानहरुको कृषियन्त्रतर्फ आकर्षण बढ्दो छ । कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन् ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएपछि आजकाल खेताला पाउन मुस्किल हुने गरेको किसानहरू बताउँछन् । त्यसैकारण पनि कृषि उपकरण आफ्नो रहर मात्रै नभइ बाध्यता पनि भएको उनीहरूको भनाइ छ । धेरै खेती भएका किसानहरूलाई यी सबै समस्या समाधानका लागि बाली काट्नेदेखि, रोप्ने, सम्याउने सबै काम कृषियन्त्रले गरेपछि श्रम, लगानी र समय सबैको बचत भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु