प्रदेश १ का सबै नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय

2020-04-18 मा प्रकाशित

झापा/ कोरोना भाईरसको त्रास फैलिदै गएपछि प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्ने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरुरी रहेको बताए। ‘अहिलेलाई नाकाहरुमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्न पहल गर्ने निर्णय भयो। अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ उनले भने। प्रदेश १ मा काँकरभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्।

यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ। विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा भेन्टिलेटरसहितको अस्पताल स्थपना गरिने मन्त्री घिमिरेले बताए। ‘एक साताभित्र अस्पताल तयार पार्छौं। सेना, प्रहरी लगायत जनशक्तिलाई प्रयोग गर्छौं,’ उनले भने। कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ। शुक्रबार सभामुख प्रदिप कुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु