दिनेशले सुरुगरे लकडाउनकै बीच ‘गमला उद्योग ’

2021-12-03 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर –१३ का दिनेशकुमार पण्डितलाई यतिखेर बिभिन्न साइजका गमला र मुर्ति बनाउँन भ्याइ नभ्याई छ ।
प्रहरीको जागिरबाट करिव अढाई वर्ष अघि अवकास पाएका पण्डितले विगत १४ महिना अघिदेखि गमला उद्योग सञ्चालन गरेपछि उनकोमा गमला तथा मुर्ति किन्न दैनिक जसो मानिसको भीड लाग्ने गरेको छ ।
अघिल्लो वर्ष कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनमा उनले रामै्रसँग व्यापार गर्न भ्याए । आफूले गुणस्तरीय र आकर्षक डिजाइनका गमला तथा विभिन्न सामग्री निर्माण सुरु गरेपछि बजारमा यसको माग बढेको उद्योगका सञ्चालन पण्डितले बताए ।
पण्डितले मेचीनगर–१३ स्थित धाइजन र चारआलीकोबीच भागमा जियान्सी गमला उद्योग सञ्चालनमा ल्याएका छन् । ७ लाखको लागतमा सुरु भएको उद्योगमा हालसम्म करिव १२ लाख लगानी भइसकेको उनको भनाइ छ ।


२०५८ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका पण्डित हवल्दारको जिम्मेवारी सम्हाल्दै गर्दा २०७५ चैत महिनाबाट सेवा निवृत्त भएका थिए । सरकारी जागिरबाट अवकास पाएपछि उनलाई पनि वैदेशिक रोजगारीको मोहले नछोएको भने होइन । पैसा कमाउन र परिवारलाई सुख दिन उनले दुवै पुलिस र आर्मीको लागि प्रयास गरे तर त्यो सफल हुन सकेन । विदेशको प्रयास जारिराखेकै समयमा विश्व महामारीको रुपमा कोरोना संक्रमण फैलिन थालेपछि उनले वैदेशिक रोजगारीको मोह त्यागेर नेपालमै केही नयाँ तथा फरक व्यवसाय गर्ने सोचका साथ गमला उद्योग सञ्चालन गरेका छन् ।
उनी भन्छन, – ‘नयाँ व्यवसाय सुरु गर्ने भएपछि गमला उद्योगकोे सोच बनाएँ अनि तालिम लिन भारतको डिल्ली स्थित आफन्तकोमा पुगेर तीन महिना तालिम लिएँ र घर फर्किएँ, आज नयाँ उत्साहका साथ गमला उद्योग सञ्चालन गरिरहेको छु ।’
पुलिसको जागीरबाट रिटायर्ड भएपछि अब केगर्ने मनमा लामो समय दुविदा भयो । उनले भने, ‘सुरुमा विदेशको सोच बनाएर दुवैको पुलिस र आर्मीमा ट्राई गरेँ तर त्यसै समय कोरोना संक्रमणबाट बिदेशमा भकाभक मानिसहरु मर्न थालेको देखेपछि विदेश जाने इच्छानै मरेर गयो, त्यसपछि परिवारकै साथमा रहेर काम गर्ने सोच बनाएँ र गमला उद्योग सुरु गरँे । आज यस व्यवसायबाट सन्तुष्ट छु ।’ पण्डितले आफ्नो फर्ममा गमला मात्र नभएर तुलसाको मोठ, रेलिङ, भेन्टिलेसन, मुर्ति, गेटलाइट लगायतका सामग्रीहरु उत्पादन गरिरहेका छन् । हुन त उनको काममा उनकी श्रीमती रेनुु पण्डितको उत्तिकै साथ रहेको छ । रेनुु दैनिक रुपमै गमला तथा अन्य विभिन्न सामग्री बनाउने काममा व्यस्त हुन्छिन् । दिनेशले आफ्नो उद्योगमा थप ३ जनालाई रोजगारी समेत दिएका छन् ।
आफूले उत्पादन गरेका सबै सामग्री स्थानीय बजारमै खपत हुने गरेको उनले बताए । उनी भन्छन, ‘मैले क्वालिटीमा कहिल्यै कम्प्रोमाइज गरिन, गुणस्तरीय सामग्री उत्पादन गरिरहेको छु, त्यसैले सबैले म माथि विश्वास गर्नु भएको छ । विक्रीको लागि कुनै समस्या छैन । लकडाउनमा समेत राम्रैसँग व्यापार भयो ।’ पण्डितले आफ्नो व्यवसायबाट खर्च कटाएर मासिक रुपमा ४० देखि ५० हजार बचत हुने गरेको बताए । बैदेशिक रोजगारीमा जाँदा पनि यस्तै खालको कमाई हुन्छ आज परिवारकै साथमा रहेर दुईचार पैसा बचत गर्न भ्याएको छु । उनले खुशी व्यक्त गरे ।’
दिनेशले लकडाउनकै बीचमा बिर्तामोडस्थित चारपानेमा समेत एक कट्ठा जमिन लिजमा लिएर अरुण फेन्सी गमला उद्योग सञ्चालन गरेका छन् । उनले अघिल्लो विजया दशमीको अवसर पारेर बिर्तामोडमा उद्योग सञ्चालन गरेका हुन् । बिर्तामोडमा रहेको उद्योगको कारोबार भाइ कुमार पण्डितले हेर्ने गरेको र सो उद्योगमा समेत करिव १२ लाख लगानी भइसकेको उनले बताए । दिनेशले ग्राहकहरुको सुविधालाई ध्यान दिएर होम डेलिभरीको सुविधा समेत दिएका छन् । उद्योगमा आफै आएका ग्राहकलाई केही प्रतिशत छुट सुविधा समेत दिने गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु