वडाध्यक्षको पहलमा एउटै वडामा दुई ठाउँमा क्वारेन्टाइन

2020-04-18 मा प्रकाशित

लक्ष्मी उप्रेती काँकरभिट्टा यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । विश्व स्वास्थ्य संगठनले समेत अहिले संकटको अवस्था भनि सकेको छ । सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहान शहरबाट शुरु भएको योे भाइरसले यतिखेर विश्वका संयौ देशमा असर पारिरहेको छ । हजारौै मानिसकोे ज्यान गइसकेको छ । लाखौं मानिसहरु संक्रमित छन् । अहिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न विश्वले आफ््ना हरेक संयन्त्र परिचालन गरेको छ । नेपालमा समेत नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित देखिन थालेपछि यसको नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् ।

संघीय र प्रदेश सरकार जस्तै स्थानीय सरकार पनि आफ्ना स्रोत साधन र जनशक्ति परिचालन गरेर अघि बढेको छ । यी मध्येको भारतसँग सीमाना जोडिएको मेचीनगर नगरपालिका त शुरु देखिनै विभिन्न अभियानका साथ अघि बढेको थियो । हरेक जनप्रतिनिधिहरु आफ्ना वडावासीलाई यसकोे संक्रमणबाट रोक्न कम्मर कसेर लागेका छन् । कतिले त आफ्नै स्थानमा क्वारेन्टाइन नै सञ्चालनमा समेत ल्याउन पछि परेनन् ।

मेचीनगर नगरपालिकाले वडानम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकीमा क्वारेन्टाइन खडा गर्यो । तर वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले स्थानीय शैक्षिक संस्था, नागरिक समाज स्थानीय दलसँग छलफल गरेर वडानम्बर ४ को पशुपति र सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाए । अहिले सरस्वतीमा ५ र पशुपति माविमा ११ गरी कुल १६ जना विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बसेको वडाध्यक्ष वरालले बताए । उक्त क्वारेन्टाइन उनकै पहलमा सञ्चालनमा आएको हो ।

‘सवैभन्दा पहिला मेरा वडावासीलाई यो आतंकबाट बचाउनु मेरो पहिलो कर्तव्य हो ’ वडाध्यक्ष वरालले भने —‘अहिले नेपालमा जतिलाई यसको संक्रमण देखिएको छ सवै विदेशबाट आएका छन् । यसको लक्षण १४ दिन पछिमात्र देखिने भएकाले मैले आफ्ना वडामा विदेशबाट आएकाहरुलाई सोझै परीवारको सम्पर्कमा नपठाई यसको संक्रमण नफैलियोस भनरे स्थानीय स्तरमै क्वारेन्टाइनको व्यवस्था मिलाएको हुँ ।’ क्वारेन्टाइनमा बस्नेहरुलाई पनि आफ्नै घर सरह भएको छ । कुनै अप्ठयारो छैन । खानाको राम्रो प्रवन्ध वरालले मिलाएका छन् । वडाध्यक्ष वरालले आफ्नो वडावासीका लागि मात्र होइन सिङ्गो मेचीनगरवासीको सुविधाका लागि आधा दर्जनबढी एम्बुलेन्सका चालकहरुको नम्बरसहित नाम आफ्नो फेसबुक मार्फत उपलब्ध गराएका छन् ।

हरेक दिन विहान दिउसो बेलुका इन्फ्रारेड थर्मामिटर बोकेर उनी गाउँ गाउँ पुग्छन् प्रत्येकको तापक्रम मापन गर्छन, उच्च ज्वरो आए नआएको, रुघामर्की, श्वास प्रश्वासमा समस्या थकानलगायतका बारेमा गाउँलेलाई सोध्छन् । त्यतिमात्र होइन कहि कतै कोहि विदेशबाट फर्किएका छन कि भन्दैं, गाउँलेलाई सोध्छन र भन्छन यदि आएका भए हामीलाई खवर गर्नुहोला है भन्दैं आग्रह समेत गर्छन वडाध्यक्ष वराल ।

शुरुदेखि नै आफ्ना वडावासीलाई अनावश्यक भीडभाडमा नजान, अत्यावश्यक काम बाहेक अरु बेला घरबाट बाहिर ननिस्कन समेत हरेकलाई आग्रह गरेको उनको भनाई छ । वडाध्यक्ष वरालले माइकिङ, पर्चा पम्प्लेट वितरणको पनि कार्य पनि गरेका छन् । वडाका सवै ठाउँमा कोरोना भाइरस को संक्रमण तथा नियन्त्रणका लागि विल्चिङ्ग पाउडर स्प्रे कार्य गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु