मेचीनगरले गर्याे सीमा स्तम्भको निरीक्षण, ३२ किलोमिटर क्षेत्रमा ७३ वटा स्तम्भ भेटिएन 

2022-02-28 मा प्रकाशित

मेचीनगर, १६ फागुन । मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सीमाना करीव ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो ।

भारतीयनाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन र बुझ्न अनुगमन र अवलोकन गरिएको नगरप्रमुख आचार्यले बताए।

अनुगमनका क्रममा नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले भारतीय सुरक्षाकर्मीसँग समेत सीमा स्तम्भहरुका बारेमा जानकारी लिएका थिए । टोलीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ८ नम्बर बटालियनका असई दिम्बु दासले स्तम्भहरुका बारेमा जानकारी गराएका थिए । मेचीनगरमा नेपाल–भारत सिमाना छुट्टयाउन राखिएका ७३ वटा सीमा स्तम्भहरु नभेटिएको नगर पालिकाले जनाएको छ ।

अनुगमनका क्रममा नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेतीले मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष नविन बराल, नेपाल र भारतीय सुरक्षाकर्मीसँग समेत सीमा स्तम्भहरुका बारेमा जानकारी लिएका थिए ।

मेचीनगरको वडा नं। १, ४, ५, ६, ७ र १५ भारतसँग सीमा जोडिएको छ । इलामा रोङ गाउँपालिकाको दुधे चौरदेखि दक्षिण भद्रपुरको कालिका टि–स्टेटको पुल उत्तरसम्म मेचीनगर सीमा भारतसँग जोडिएको छ । सो क्षेत्रको २२१ वटा सीमा स्तम्भहरु हुनुपर्नेमा १४८ वटा मात्र सीमा स्तम्भहरु रहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुको भनाइ छ । त्यस मध्ये ७३ वटा स्तम्भहरु बाडीले बगाएको र केही पुरिएको अवस्थामा रहेको छ ।

इलाम र झापाको दोभान स्थित मेचीनगर–१ को प्रसादगौडा दुधेचौरको साढे ६ किलोमिटर क्षेत्रफलमा ३३ वटा स्तम्भहरु मध्ये ६ वटा हराएको, प्रसाद गौडाबाट माताचोकसम्म ६ किलोमिटरमा रहेको ३४ वटामा २० वटा सीमा स्तम्भ हराएको, वडा नम्बर–५ को माताचोकदेखि कालिमन्दिर सम्मको डेढकिलो मिटर दुरीमा ११ वटामा ५ वटा हराएको, कालिमन्दिरदेखि मेचीपुलसम्म ६ किलोमिटरमा रहेको १२ वटामा ५ वटा स्तम्भहरु हराएको छ ।

त्यस्तै मेचीपुलदेखि ज्यामिरगढी टुक्रेबाँधसम्म ६ किलोमिटरमा रहेको १९ वटामा ५ वटा स्तम्भहरु हराएको र ज्यामिरगढीको टुक्रेबाँधदेखि भद्रपुरको कालिका टिस्टेटसम्म ९ किलोमिटरमा रहेको १०२ वटा मध्ये १६ वटा स्तम्भहरु हराएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु