झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

2022-03-03 मा प्रकाशित

बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ ।

शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ ।

पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस उमारिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ ।

गोल्डकपमा यसवर्ष घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्रीस्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन ।

गोल्डकपमा दुई विदेशी टिम एम।एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० वटा टिम सहभागी हुने गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । शनिबार उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथबीच हुनेछ । प्रतियोगिताका सबै खेल बिर्तामोड–३ बिर्ताबजार स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

यसपालि पनि गोल्डकप विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन ।

गोल्डकपका सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही २१ हजार तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन ।

गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु