फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

2022-03-03 मा प्रकाशित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५।३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह(प्रवक्ता पुष्कर कार्कीले बताए । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु