बिन्ती साकोस आजबाट आफ्नै भवनमा

2022-03-05 मा प्रकाशित

मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्था आजबाट आफ्नै भवनमा सरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो ।
२०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजारका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख भन्दाबढी शेयर कारोबार गरेको जनाइएको छ । ग्रामीण क्षेत्रबाट बचत संकलन गरी ग्रामीण क्षेत्रमै सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण कुरा हो, तथापी आफै संस्थाबाट अधिकतम् आर्थिक कारोवार गरी यसलाई अगाडि बढाउँदै लैजाने संस्थाका अध्यक्ष दशरथ खडियाले बताए ।
सदस्यहरुले बजारमा पाउने सुविधा अब गाउँमै सहकारीको माध्यमबाट उपलब्ध गराउने योजना रहेको अध्यक्ष खडियाले जानकारी दिए । सदस्यहरुको मागलाई ध्यानमा राख्दै संस्थाले निकट भविष्यमा नै सहकारी पसल सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष खडियाले जानकारी दिए ।
गरिबीका रेखामुनी रहेका मजदुर, किसान, विपन्न तथा साना व्यवसायीको छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास भएको अध्यक्ष खडियाले बताए । संस्थाको पहिलो सेवा केन्द्र श्रृजना चोकमा चाँडै सञ्चालनमा ल्याउने संस्थाकी व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोखरेल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रलाद खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटा ९विकास०ले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखापाल किशोरकुमार सार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु