वेपत्ता आमाको खोजीमा प्रहरीले सहयोग नगरेको परिवारको आरोप

2022-03-24 मा प्रकाशित

काँकरभिट्टा, १० चैत । मेचीनगर–६ की ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् ।
परिवारले बिहीबार पत्रकार सम्मेलन गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् ।

२०७८ फागुन २९ गते घरबाट हिडेकी लिलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्तहरु उनको खोजीमा दिन रात भौतारिरहेका छन् ।
पत्रकार सम्मेलनमा ठूली छोरी देवी मैनालीले भनिन्, ‘आमा कहाँ कस्तो अवस्थामा हुनुहुन्छ होला आमाको खोजीमा तपाइहरुले सहयोग गरिदिनु होला ।’ उनी बोलिरहदा सहभागी धेरैको आँखा रसाएका थिए । उनले आमालाई जहाँ जस्तो अवस्थामा भएपनि एक पटक सम्पर्क गर्न अनुरोध समेत गरिन् ।

‘आमाले ठूली छोरीकोमा जान्छु भन्नु भएको थियो । हामी त त्यही जानुभयो होला भनेर ढुक्क थियौं, तर भोलिपल्ट मात्र थाहा भयो आमा त त्यहाँ जानु भएको रहेन छ, उमेरले ७० नाघि सकेकी हाम्री आमा कहाँ जानु भयो प्रहरीले पनि चासो दिएको छैन, अब हामी कहाँ खोजौं’ –छोरा प्रेमकुमार कार्की भकानिदै भने ।

उनले भने, ‘हामीले आफन्तकोमा खोजी सकिउँ, कुनै अप्रिय घटना पो भयोकी भनेर वन जंगल खोलानाला सबै चाहरी सक्यौँ तर आमालाई भेटन सकेनौं ।’

लिलामायाको जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते दिउँसो २ वजेर ५५ मिनटमा काँकरभिट्टाबाट सूर्योदय यातायातमा चढेर पश्चिमतर्फ लागेको सिसि क्यामेराको फुटेज भेटिएको जानकारी दिए ।

आमा हाम्रोमा जाने भनेर हिड्नु भएको रहेछ तर हाम्रोमा आइपुग्नु भएन, गाडी चढेर अन्तै लाग्नु भएछ, कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा नभएको उनको भनाई छ ।

उनले प्रहरीले कल डिटेल्स समेत एक दिनको मात्र उपलव्ध गराएको बाँकी डिटेल समेत नदिएको गुनासो गरेका छन् । हामीले चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाई थियो ।

‘नागरिकको जिउधनको सुरक्षा दिने काम प्रहरीको हो उनले भने, ‘तर आफ्नै ठाउँको प्रहरी समेत मान्छे हराएको विषयमा गम्भीर बन्न सकेन ।’

पत्रकार सम्मेलनमा स्थानीय पदम सुवेदीले भने, ‘उहाँ असल मान्छे हुनु हुन्थ्यो नत कसैसँग दुस्मनी थियो । नत घर झगडानै एक्कासी किन हिड्नु भयो । हामी सबै पिरोलिएका छौं ।’ प्रहरी प्रशासनलाई घचघच्याउँदै मिडियामार्फत आमाको खोजी गरिदिन उनले सहभागी पत्रकारहरुलाई अनुरोध गरे । उनले लिलामायाको खोजीकार्यमा गम्भीर बन्न प्रहरीलाई आग्रह समेत गरेका छन् ।

घरबाट हिँडेको १२ दिन वितिसक्दा समेत कही कतै नभेटिदा अपहरण भएको हुँन सक्ने आशंका समेत गर्न थालिएको छ । पछिल्लो समय देशमा अपराधिक घट्ना समेत बढ्दै गएका छन् । अपराधिक घटनालाई निरुत्साहित गर्न प्रहरीले थप सजगता अपनाउन जरुरी छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु