निर्वाचन कार्यालय झापा द्वारा नमूना मतदान 

2022-04-28 मा प्रकाशित

झापा, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमुना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमुना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए ।

नमूना मतदान स्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहायक मतदान अधिकृतको रुपमा रहेका थिए ।

नमूना मतदान स्थलमा मतदाताको नाम रुजु गर्नेमा आन्तरिक लेखा नियन्त्रक कार्यालयका प्रमुख मधु पोखरेलले गरेका थिए । मतपत्र दिनेमा आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ रिजाल, कर्मचारीको रुपमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ रहेका थिए ।

सुरक्षा निकायका प्रमुखहरु र म्यादी प्रहरी समेत राखेर गरिएको मतदान केन्द्रमा अपाङ, ज्येष्ठ नागरिक, महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको थियो । निर्वाचनमा पूरा गर्नु पर्ने सम्पूणर् प्रक्रिया पूरा गरेर सुरु गरिएको कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले मतदान कुन पदमा कसरी गर्ने भन्ने बारेमा जानकारी गराएका थिए ।

राजनीतिक दलका रुपमा पनि विद्यार्थीलाई राखेर गरिएको कार्यक्रममा मतदान पछि मतपेटिकालाई शिलबन्दी गरेर निर्वाचन कार्यालयमा ल्याएर गणना गरिएको थियो । मतगणनामा ३५ मध्ये पाँच मत बदर रहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु