मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान

2022-05-01 मा प्रकाशित

मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए ।

आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्रबहादुर बुढथोकी र उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीसहित वडा अध्यक्ष र सदस्यका उम्मेद्वारहरुले सामुहिक रुपमा पूजा गरेर चुनावी घरदैलो अभियान सुरु भएको हो ।

मेचीनगर वडा नं १ को कृष्ण थुम्की र देवीगञ्जमा उम्मेद्वार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको नेकपा माओवादीका नगर अध्यक्ष राजन चिमरियाले जानकारी दिए । त्यस्तै, मेचीनगर(४ का विभिन्न स्थानहरुमा समेत उम्मेद्वारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

गठबन्धन दलले शनिबार धुलाबारीमा पहिलो चुनावी सभा सम्पन्न गरेको थियो । धुलाबारीमा सम्पन्न नगरका सबै उम्मेद्वारहरु घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको कार्यक्रममा काँग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, काँग्रेस झापाका सभापति देउकुमार थेबे, उपसभापति केशवराज पाण्डेलगायतले चुनावमा गठबन्धनका उम्मेद्वारलाई जिताउन सबैले आफ्नो ठाउँबाट अभियान सञ्चालन गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु