ओलीको गृह नगरमा राप्रपाका मेयर र कांग्रेसका उपमेयर निर्वाचित

2022-05-20 मा प्रकाशित

मेचीनगर, ६ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर रहेको दमक नगरपालिकामा गठबन्धनका उम्मेद्वार राम थापा निर्वाचित भएका छन् ।
राप्रपाका थापाले नेकपा एमालेकी केन्द्रिय सदस्य तथा निर्वतमान उपमेयर गीता अधिकारीलाई हराउँदै नगरप्रमुखमा विजय हासिल गरेका हुन् ।

दमकको मेयरमा निर्वाचित राप्रपाका राम थापा र उपमेयरमा निर्वाचित कांग्रेसकी रेगिना भट्टराई विजयी बनेका छन् ।

थापाले १७ हजार ५२५ मत ल्याउँदै विजयी बने भने एमालेकी अधिकारीले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । नेकपा एमालेका अम्बिकाप्रसाद खनाललाई पछि पार्दै भट्टराई उपप्रमुखमा विजयी भएकी हुन् ।

भट्टराईले १७ हजार ७२ मत प्राप्त गरिन् भने एमालेका खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन् ।

दमकमा ६ दलीय गठबन्धनबाट राप्रपाका राम थापालाई मेयरका साझा उम्मेद्वार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा रहँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु