भीम खवासको नबिर्सेका दिनहरु लोकार्पण

2022-05-22 मा प्रकाशित

मेचीनगर, ८ जेठ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् बौद्धिक व्यक्तित्व भीम खवासको संस्मरणात्मक कृति ‘नबिर्सेका दिनहरु’ आज लोकार्पण भएको छ ।

उनले बाल्यकाल, शिक्षककाल, राजनीतिक संघर्षकाल र अन्य सामाजिक कालखण्डमा भोगेका अनुभूति किताबमा जस्ताको तस्तै अभिब्यक्त गरेका छन् ।

वरिष्ठ साहित्यकार कोमलप्रसाद खरेलले रोयल निर्वाण लजको सभाकक्षमा आयोजित एक कार्यक्रममा कृतिको लोकर्पण गरे ।

सो कार्यक्रममा समालोचक तारा विविध र दामोदर ढुंगेलले कृतिको समीक्षा प्रस्तुत गरेका थिए भने प्राज्ञ सुभद्रा अर्याल, साहित्यकार पुण्यप्रसाद खरेल, अग्रज पत्रकार चन्द्र भण्डारी र लेखक निरज कट्टेल शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षिका शीला खवासले सञ्चालन गरेको कार्यक्रममा स्रष्टा भीम खवासले कृति लेखनका विषयमा आफ्ना अनुभूति सुनाएका थिए ।

समीक्षक तारा विविधका अनुसार कृतिले लेखकको बाल्यकाल, ज्यामिरगढीको बसाइ, धरानको आइएस्सी अध्ययन, लालझोडा स्कुलको अध्यापन लगायत विभिन्न समयखण्डका सत्यतथ्य भोगाइ बाहिर ल्याएको छ ।

अर्का समीक्षक दामोदर ढुंगेलका अनुसार स्रष्टा आफैमा राजनीतिक आन्दोलनमा सक्रिय संगठक भएको र उनी झापा विद्रोहकालको जानकार रहेको उल्लेख गर्दै कृतिमा झापा विद्रोहको अपेक्षा गरिएभन्दा कम विवरण बाहिर ल्याइएको गुनसो गरे ।

‘उहाँ झापा कोअर्डिनेसन कमिटीसँगको सम्पर्कमा हुनुहुन्थ्यो, राजनीतिका कुशल संगठक हुनुहुन्छ,’ समीक्षक ढुंगेलले कार्यक्रममा भने–‘तर, झापा विद्रोहको जति कुरा बाहिर आउनु पथ्र्यो, किन उहाँले लेख्नु भएन भन्ने मनमा मेरो जिज्ञासा छ ।’

किताबमा पृष्ठभूमि, बाल्यकाल, शैक्षिक, अध्यापकीय, राजनीतिक र सामाजिक गरी ६ वटा खण्ड छन् । त्यसभित्र इतिहासका भिन्न घटनाहरु लेखिएका छन् ।

रंगीन कभर र स्तरीय कागजमा छापिएको यो कृतिको मूल्य पाँच सय रुपैयाँ उल्लेख छ ।

धुलावारीमा बसोबास गर्दै आएका खवासको पुरानो बसोबास मेचीनगरको वडा नं। १० अर्थात साविकको ज्यामिरगढी हो ।

उनी आजै ६९ वर्ष पूरा गरी ७० वर्षमा प्रवेश गरेका छन् । कार्यक्रममा जन्मोत्सवको शुभकामना समेत सामूहिक रुपमा व्यक्त गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु