वडामा रहेको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने निर्णय गर्दै कार्कीले गरे पदभार ग्रहण

2022-05-27 मा प्रकाशित

काँकरभिट्टा, १३ जेठ । मेचीनगरमा नव निर्वाचित जनप्रतिनिधिहरुले फरक ढंगले आफ्नो पदभार ग्रहण गरिरहेका छन् । विहीबार नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाएसँगै । बिभिन्न वडामा पदभार गर्ने क्रम सुरु भएको छ । वडाहरुले पदभार ग्रहण गर्दा केही नयाँ कामको सुरुवात समेत गरिरहेका छन् ।

विहीबारै मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीले फरक ढंगले पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा रहेको घुम्ने कुर्सीलाई हटाएर गुन्द्रीमा बसेर पदभार समालेका थिए ।

‘जनप्रतिनिधि बन्नु सुख भोगको लागि होइन’, वडाध्यक्ष कार्कीले भने, ‘म सुख सुविधा भोग्न आएको होइन, ‘मलाई घुम्ने कुर्सी चाहिँदैन, गुन्द्रीमा नै बसेर जनताको सेवा गर्छु ।’

घुम्ने कुर्सी हटाएर गुन्द्रीमा बसेर पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । कार्कीले असारको पहिलो हप्तादेखि स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । वडाध्यक्ष कार्कीले कर्मचारीहरुलाई जनताका हरेक समस्याहरुलाई सहज तरिकाले काम गर्न निर्देशन दिएका थिए ।

त्यस्तै वडाभित्र रहेका विद्यालयमा कुनै पनि जंगफुटको प्रयोग नगर्ने निर्णय गरेका छन् । अब वडा कार्यालयमा चाहिने कागजातको फोटोकपी वडा कार्यालयमा नै निःशुल्क रुपमा गरिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु