वीरेन्द्र उच्च माविमा खाद्य सचेतना सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

2022-06-07 मा प्रकाशित

भद्रपुर, २४ जेठ । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर आज विद्यार्थीलाई सन्तुलित र स्वच्छ आहार विहारको लागि प्रशिक्षण प्रदान गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला समन्वय समितिको सभाहलमा सो प्रशिक्षण प्रदान गरेको हो ।

विद्यार्थीहरुलाई सन्तुलित आहार र खाद्यवस्तुको बारेमा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन टंक बाह्रकोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसन्धान अधिकृत भरतबहादुर पुरीले प्रशिक्षण प्रदान गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानले विद्यार्थीलाई प्रशिक्षणका क्रममा सिकेको कुरा व्यवहारमा उर्तान आग्रह गरेका थिए । उनले वर्तमान अवस्थामा समेत हामीले सन्तुलित र स्वच्छ खाना खान नसक्दा विभिन्न रोगको शिकार बन्नु परेको बताएका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले विद्यार्थीहरुलाई आजैदेखि जङ्कफुट नखान आग्रह गरका थिए ।

कार्यक्रममा शिक्षक, सञ्चारकर्मी, विभिन्न कार्यालयका प्रमुख, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु