झापामा निर्वाचनको समीक्षा र सुधार्नुपर्ने पक्षबारे छलफल

2022-06-08 मा प्रकाशित

बिर्तामोड। झापामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल सम्पन्न भएको छ । संवाद समूह झापाको संयोजनमा बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षबारे सुझाव राखेका थिए । सरोकारवाला निकायका अधिकारीहरुले अपाङ्गमैत्री संरचना निर्माण, निर्वाचन आचारसंहिता कार्यान्वयन र मतदाता शिक्षा लगायतका विषयलाई अझ संवेदनशीलताका साथ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

सहभागीले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा तथा अपांगतामैत्री संरचनाका विषयमा देखिएका कठिनाई र आगामी निर्वाचनमा गर्नुपर्ने सुधार बारे सुझाव राखेका थिए । उनीहरुले झापामा शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको, समग्र पक्षमा विगतभन्दा सुधारभएको धारणा राखे ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले झापामा शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले सीमित साधन स्रोतकाबीच जिल्लामा विगतभन्दा व्यवस्थित र छरितो रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

झापामा आचारसंहिता उल्लंघनको लिखित उजुरी नपरेको बताउदै उनले आचारसंहितबारे मौखिक रुपमा प्राप्त गुनासालाई तत्काल सम्बोधन गरेको भनाई राखे ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापामा निर्वाचन शान्तिपूर्ण र विवादरहित रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरे । उनले झापामा राजनीतिक संस्कार राम्रो रहेकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए । साढे छ हजार सुरक्षाकर्मी र करिब ४ हजार निर्वाचन कर्मचारीको अथक मेहेनतमा निर्धारित समयमै मतदान तथा विगतभन्दा छिटो मत परिणाम सार्वजनिक गर्न सफल भएको बताए ।

प्रजिअ रिजालले निर्वाचनमा खटिएका दलीय प्रतिनिधि र कर्मचारीबीच आपसमा विश्वासको वातावरण बनाउन नसक्दा मतगणना स्थलमा तारजाली लगाउनु परेको बताए । उनले आगामी दिनमा विश्वासको वातावरण बनाउदै तारजालीको अवस्था नल्याउन आग्रह गरे । उनले अहिलेको निर्वाचनको सिकाइबाट आगामी निर्वाचनको सुधारमा टेवा पुग्ने बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जिल्लामा निर्वाचन सफल र विवादरहित सम्पन्न गर्न सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । उनले विगतमा भन्दा यो पल्ट आचारसंहिता पालनाको अवस्थामा उल्लेख्य सुधार आएको बताए ।

वरिष्ठ अधिवक्ता लीला उदासीले आचारसंहित कार्यान्वयनमा थप सुधारको आवश्यकता रहेको सुझाव दिए ।
जिल्लामा निर्वाचन पर्यवेक्षण गरेको नियोक झापाका अध्यक्ष डा।रुपक खनालले जिल्लामा निर्वाचन आचारसंहित कार्यान्वयनमा कडाई गर्दागर्दै पनि मतदाता प्रभावित पार्ने धेरै कार्य दलका उम्मेदवारबाट भएको बताए । कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेलले
समीक्षा कार्यक्रममा सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक प्रदीपसिंह कार्की, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकरी गणेश पाण्डे, गैरसरकारी संघसंस्था महासंघका अध्यक्ष हरिप्रसाद गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा बाँस्तोला, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठ, इन्सेक प्रतिनिधि नरेश खाती, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष राजु न्यौपाने, नियोक प्रतिनिधि मीरा भट्टराई, नेत्रहित संघ झापाकी अध्यक्ष सिर्जना बराल, बिर्तामोड अपांगता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा, सचिव हरिप्रसाद अधिकारी लगायतले निर्वाचनका राम्रा पक्ष, कमजोरी र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे धारणासहित सुझाव राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु