सागर खड्का उपचार सहयोग समितको आग्रह ,उपचारमा सवैले सहयोग गरौ

2020-06-25 मा प्रकाशित

मेचीनगर, ११ असार ÷ झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने तयारी हुदैछ ।

४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि खड्काको दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारमा आर्थिक अभाव भएको भन्दैं समितिले विहीबार मेची उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी उपचारमा सहयोग गरिदिन आग्रह गरेको हो ।

२०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा. सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएको छ ।

मेचीनगर–९ का स्थानीयवासीले खड्काको उपचारका लागि सहयोग जुटाउन ९ सदस्यीय ‘सागर खड्का उपचार सहयोग समिति ’ गठन गरी आर्थिक संकलनमा जुटेका छन् ।

समितिको संयोजकमा गोपाल बस्नेत र सचिवमा माधव फुँयाल रहेका छन् भने सदस्यमा ऋषिराज तिम्सिना, कविन्द्र श्रेष्ठ, विपुल श्रेष्ठ, हरि कोइराला, रेणुका डाँगी उप्रेती, अस्मिता खरेल र नृपेन्द्र श्रेष्ठ रहेका छन् ।

बीएस्सी अध्ययन गरेका अविवाहित खड्काको घरमा आमा पूर्णिका खड्का मात्र रहेकी छन् । उनको आर्थिक अवस्था दयनीय छ । एउटा प्रतिभाशाली युवा गरीव भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भनेर मेचीनगर–९ का स्थानीयवासीले उनको उपचारका लागि सहयोग गठन गरिएको संयोजक बस्नेतले बताए ।

समितिले छिटोभन्दा छिटो स्वेच्छिक सहयोग जुटाएर खड्काको उपचारमा मदत पुर्याउने लक्ष्य लिएको जनाएको छ । समितिले उपचारमा जुटेको रकम र खर्चको विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

उनको पहिलोपटक शल्यक्रिया गर्ने डा. लिम्बुु हाल विर्तामोडको बिर्तासिटी हस्पिटलमा रहेको हुँदा खड्काको दोस्रोपटकको शल्यक्रिया डा. लिम्बुबाट विर्तासिटी हस्पिटलमै गरिने समितिले जनाएको छ ।

चिकित्सकहरुले बल्झिएको ट्युमरको दोस्रोपटक शल्यक्रिया गर्नुपर्ने बताएको सागर खड्काले बताएका छन् । उनकी आमा पूर्णिका खड्काले हालसम्मको उपचारमा १० लाख रुपैयाभन्दा बढी खर्च भइसकेको हुँदा अब उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन सार्वजनिक अपिल गरेकी छन् ।

सागर खड्काको नाममा नेपाल बैङ्क लिमिटेड धुलावारीमा रहेको खाता नं. ०५५०१७०६५७२५२९०००००१ मा सहयोग रकम जम्मा गरिदिनु सम्पूर्ण दानवीर महानुभाव तथा संघ संस्थाहरुमा समितिका तर्फबाट हार्दिक अपिल गरिएको छ । उपचारमा चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको समितिका संयोजक बस्नेतले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु