
झापा, १३ असार । सहारा नेपाल, ह्याबिटाट नेपाल र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा विपन्नका लागि ६०३ वटा आवासगृह निर्माण गरिएको छ ।
सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत तीन संस्थाले सन् २०१९ देखि झापा गाउँपालिकामा गरीवका लागि घर बनाउने अभियान सुरु गरेका थिए ।
सन् २०१९ मा ७० वटा, २०२० मा १३० वटा, २०२१ मा ११३ वटा, २०२१ मै ११५ र २०२२ मा १७५ वटा घर निर्माण सम्पन्न भइसकेको आवास कार्यक्रमका टिम लिडर टीकाप्रसाद कँडेल जानकारी दिए ।
विपन्न वर्गका लागि सुरक्षित, बलियो र पर्याप्त आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दीगो समुदाय परियोजनाको उद्देश्य रहेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी बताउँछन् ।
त्यसरी घर बनाउँदा परियोजनाले गरिबीको रेखामुनि रहेका अति विपन्न, गरिब, घरविहिन, सुकुम्बासी, पिछडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरिएको गिरीले जानकारी दिए ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले सहारा र ह्याबिटाटसँगको सहकार्य अत्यन्त लाभदायी भएको बताएका छन् ।
सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा आवास निर्माण गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्