भारतीय नागरिकको हत्या गरेको आरोपमा तीन जना पक्राऊ

2022-07-03 मा प्रकाशित

झापा । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिला सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृख वहादुर थापा र सुनसरी वराह क्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।
उनीहरुले गत असार १२ गते साझ भारतीय नागरिक जापाडीया नरेश कुमार वावु भाईको कर्तब्य गरी हत्या गरेको भन्दै प्रहरीले तीनै जनालाई पक्राउ गर्दै आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तिलाल नि चली भर्गब रोड कुवेरनगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेश कुमार वावुको हत्या गरेको बताउनुभयो ।

कामको सिलसिलामा २०७६ साल मंसीरमा भारत पुगेगी जानुकासंग उनको चिनजान भएको र चिनजान पश्चात मृतक नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । २०७९ साल बैशाख ४ गते नेपाल आउने क्रममा मृतक नरेश कुमार वावुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अबैध भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो ।

पक्राउ पछि उनी आन्तरिक राजश्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेको बताइएको छ । सोही क्रममा उनी तारेक बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जानुकाको घरमा रहँदा जानुकालाई मृतकले श्रीमानकै अगाडि दुब्र्यवहार गरेको भन्दै श्रीमान श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा उनको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

हत्या पछि उनको शब अर्जुनधारा नगरपालिका ४ स्थित जुकेखाडी – साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइप भित्र बोरामा बाधेर फालेको अबस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नरेश कुमार वावुको हत्याका लागि शुरुमा परियारलाई २५ हजार रुपैया दिएको र उनको हत्या संगै शव फालेपछि पुन एक लाख ७५ हजार रुपैयाँ दिएको र अर्का एक जना मानिसलाई समेत एक लाख रुपैयाँ दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाएको छैन ।

नरेश कुमार वावुको हत्या गर्न थापा दम्पत्तीले पाँच लाख रुपैयाँ खर्च गर्ने सहमति भएको र सोही सहमति अनुसार उनीहरुले तीन लाख रुपैयाँ प्रदान गरिसकेको बताइएको छ । बाँकी दुई लाख रुपैयाँ पछि दिने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु