जनप्रतिनिधि बनेका पूर्व पत्रकारहरुलाई महासंघले गर्यो बिदाई

2022-07-16 मा प्रकाशित

बिर्तामोड, ३२ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्लाको विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मानसहित बिदाई गरेको छ ।

शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।

पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला लगाएर सम्मान गरिएको हो ।

वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नं। ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नं। ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।

महासंघ झापाले पत्रकारिता क्षेत्रमा हालसम्म पुर्याएको योगदानको कदरसहित सम्मान र जनप्रतिनिधिको रुपमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाय सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघले सम्मानसहित उनीहरुलाई सक्रिय पत्रकारिताबाट बिदाई समेत गरेको छ ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए भने सम्मानपत्रको वाचन सहसचिव अर्जुन राजवंशीले गरे । कार्यक्रममा पूर्व पत्रकार जनप्रतिनिधिहरुले सञ्चारमैत्री पालिका र वडा बनाउँदै महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

उपप्रमुख संग्रौलाले प्रश्न गर्ने पत्रकारको भूमिकाबाट जवाफ दिने जनप्रतिनिधिको भूमिकामा निर्वाचित हुने चारै जनालाई जनताप्रति जिम्मेवार बन्न सुझाव दिएका छन् । संग्रौलाले जनप्रतिनिधिको जीवनशैली सादगी, कार्यशैली पारदर्शी र घुस नखाने हुनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु