आगलागी पीडित लखि मर्डिले पाइन् नयाँ घर

2022-08-05 मा प्रकाशित

झापा, साउन २० । विगत पाँच महिना अघि आगलागीका कारण घर जलेर सम्पूर्ण घरसंगै सरसामान गुमाउन पुगेकी मेचीनगर १४ की लखि मर्डिले आज नयाँ घरपाएकी छन् ।

मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बीच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गर्नु भएको छ । मेची अभियानका परिकल्पनाकार समेत रहनु भएका काँग्रेस महामन्त्री शर्माले आगलागीबाट बास बस्ने ठाउँ समेत गुमाउनु भएकी लखि मर्डिलाई घर बनाइदिन सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनु भएको थियो ।

‘कसैको घर नजलोस,’ शर्माले भन्नुभयो, ‘यदि भवितव्य परिहाल्यो भने सबै दल र सबै संस्थालाई त्यागेर सहयोग गर्नु पर्छ ।’ मेची अभियान संकटमा परेका बेला अगुवाइ गर्ने संस्था भएकाले पनि यसको संयोजनलाई सबैले स्वीकार गरेको महामन्त्री शर्माले बताउनु भयो ।

दुवागढीस्थीत मजदुर बस्तीमा निर्माण गरिएको घर हस्तान्तरण कार्यक्रम अभियानका संयोजक विजय डालमियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्थानीय सहयोग समितिका अध्यक्ष विश्व थापाले ४ लाख १७ हजारमा घर निर्माण सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा मेचीनगर १४ का वडा सदस्य लाल मोहम्मद मियाँले चिया बगानमा मजदुरी गर्ने लखि मर्डिको घर निर्माण गरिदिएकोमा सबैलाई धन्यबाद दिनु भयो ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुवेशकुमार पनेरु, काँग्रेसका प्रदेश ख सभापति सन्तोस न्यौपाने, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु, स्थानीय समुदाय लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ज्ञानेन्द्र निरौलाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु