सामुदायिक वनमा आधारित चलचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

2022-08-10 मा प्रकाशित

 कनकाई । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित चलचित्र बनेको छ । वनहरु समुदायमा हस्तान्तरण भएसँगै भए÷गरेका प्रगतिको कथामा आधारित चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको छायांकन पूरा गरी बुधबार झापाको जामुनखाडी सिमसारमा सार्वजनिक गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुती र माइबेनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको उक्त वृत्तचित्र सातौँ वन दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा वृक्षारोपणसहित वन नियमावली सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त चलचित्र सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा छायांकन गरिएको छ । मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझीदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका छन् । तिनै सफल निर्देशक केरुङले सामुदायिक वनमा आधारित चलचित्र बनाएका हुन् । सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरु यहाँसम्म आइपुग्न उपभोक्ताको ठूलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’ चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभास मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईं छन् । त्यस्तै, कृष्ण कोइराला, विक्रम श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ ।

निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूह मार्फत उपभोक्तालाई देखाइनेछ । महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य संगीता थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु