सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न मेचीनगरले थाल्यो छड्के अनुगमन

2022-08-16 मा प्रकाशित

मेचीनगर, ३१ साउन। मेचीनगर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तमा सुधार ल्याउन नगरपालिकाले नयाँ रणनीति अपनाएको छ । सामुदायिक विद्यालयहरुको प्रभावकारी अनुगमन नहुँदा क्षैक्षिक स्तर खस्कदै गएको गुनासो बढ्न थालेपछि नगरपालिकाले विद्यालयमा छड्के अनुगमन सुरु गरेको छ ।

मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको छ ।

अनुगमनका क्रममा शिक्षकहरूले हाजिर गरेर आफ्नो निजी काममा जाने गरेको, लामो समयसम्म बिदा बसे पनि कुन बिदा बसेको हो त्यसको स्पष्ट नखुलाएको तथा पोशाक नलगाउने गरेको टोलीले अनुगमनका क्रममा फेला पारेको बताइएको छ ।

मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्रीकृष्ण प्राथमिक विद्यालयमा बाल विकाशसहित कुल ५२ जना विद्यार्थी भए पनि ४२ जना मात्र उपस्थित रहेका र शिक्षक होमनारायण धिमाल हाजिर गरेर अन्यत्र गएको अनुगमन टोलीले जनाएको छ ।

नगरको शिक्षा शाखाले शिक्षक धिमाल स्पष्टीकरण सोध्ने नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले बताए ।

अनुगमनका क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जोड दिँदै विद्यार्थीलाई सरकारी विद्यालयतर्फ आकर्षण गर्ने खालका क्रियाकलाप गर्न सम्बन्धित विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन दिएका थिए।

सरकारी विद्यालयमा दैनिकजसो विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले त्यसको कारण पहिल्याएर समाधान खोज्नुपर्नेमा बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु