डी कौडिन्य पत्रकारिता पुरस्कार शर्मा, पाठक र झापालीलाई प्रदान गरिने

2022-08-16 मा प्रकाशित

झापा, ३१ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गरिने भएको छ ।
कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार पत्रकार जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई प्रदान गरिने भएको हो ।

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले प्रतिभा छनौट गरेको हो ।

गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाइनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको हो । झापाली कनकाई साप्ताहिकका सम्पादक समेत हुन् ।

पुरस्कारको राशि जनही २१ हजार रहेको छ । पुरस्कार भदौ १ गते भोलि गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा बितरण गरिने प्रेस सेन्टर झापाका अध्यक्ष रेग्मीले बताए ।

कौडिन्यलाई तत्कालीन साही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआली स्थित व्यारेकमा पुर्याएर हत्या गरेको थियो ।

जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यसअघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भईसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु