आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्छ: लिङ्देन

2022-08-22 मा प्रकाशित

चारआली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं १ ले सोमबार चारआलीमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष लिङ्देनले कम्युनिष्टि र काँग्रेस पार्टीका कारण देश बर्वाद भएको आरोप लगाए । ‘हामीले काँग्रेस र कम्युनिष्टले सत्ता चलाएको हेरेर अहिलेसम्म बसिरहेका छौँ, उनले भने, ‘उनीहरुबाट हामीले के आशा र भरोसा प्राप्त गर्न सक्यौँ, त्यसैले परिवर्तनका लागि अब नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर परिवर्तन महसुस गर्न आम मतदातासमक्ष अपिल गर्दछु ।’ अध्यक्ष लिङ्देनले अबको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई असफल हुने छुट नभएको बताए । गत स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अपेक्षा गरेअनुसार परिमाण नआए पनि पार्टीप्रतिको आशा र भरोसा बढेर गएको विश्वास दिलाए । ‘स्थानीय चुनावको परिमाण हेर्दा हाम्रो पार्टी सशक्त रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘त्यसैले नेपाली राजनीतिक शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अब विकल्प छैन ।’

आमसभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको महान अभियानमा जोडिन आग्रह गरे । उनले अबको चुनावमा भ्रष्टाचारी नेतालाई परास्त गर्ने तागत मतदाताले देखाउनु पर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताए मात्रै समृद्धि हासिल हुने दाबी समेत गरे ।

क्षेत्रीय अध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दमक नगरका मेयर राम थापा, अमर विष्ट, अन्जार आलम, जिल्ला अध्यक्ष केशवराज ओझा, प्रदेश सदस्य दिपेश राई ‘गोरे भाई’ लगायतको आतिथ्यता रहेको थियो । नगर सचिव विशालकृष्ण बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा नगर अध्यक्ष सविना बजगाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु