अब बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो छ ः शर्मा

2022-09-03 मा प्रकाशित

बाहुनडाँगी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब मुलुकमा थप बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो भएको बताएका छन् ।

झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको बाहुनडाँगीमा निर्मित सालिकको अनावरण कार्यक्रममा बोल्दै उनले मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता औल्याए ।

‘अब पुग्यो सहिद, पुग्यो सहादत,” शर्माले भने–‘अब कुनै पनि आमाबुवाले आफ्ना छोराछोरी गुमाउनु पर्ने अवस्था नआओस् ।’ सहिद विश्वनाथ र उनी जस्तै सहिदहरुको बलिदानले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता आइसकेको जनाउँदै शर्माले जनताको जीवनमा चाहिँ कहिले परिवर्तन आउने भनेर प्रश्न गरे ।

२०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले एक्लै पारी गोली हानेर नेपाली कांग्रेसका नेता, महामानव वीपी कोइरालाका प्रियपात्र एवम् तत्कालीन बाहुनडाँगीका जनप्रिय प्रधानपञ्च विश्वनाथ घिमिरेको हत्या गरेका थिए ।

तिनै घिमिरेलाई नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको छ । तर सहादत भएको ६० वर्षपछि बल्ल सालिक निर्माण भएको हो ।

अञ्चलाधीशको आदेशमा घिमिरेलाई काम छ भनी चन्द्रगढी बोलाएर लैजाँदै गर्दा बाटैमा गोली हानेर हत्या गरिएको नेपाली कांग्रेसका पूर्व उपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

सालिक निर्माणमा १४ लाख ६३ हजार ९४७ रुपैयाँ खर्च भएको सालिक निर्माण आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए । सालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान दिएका थिए ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश नं। १ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबे लगायतले मन्तब्य राखेका थिए । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेती, नेकपा एकीकृत समाजबादीकी सविता भण्डारी लगायतले सो अवसरमा धारणा व्यक्त गरेका थिए ।

शहिदका २ जना परिवारलाई अभिनन्दन गरिएको छ । जस्मा शहिदका स्व।जेठा छोरा ठाकुरप्रसादकी श्रीमति धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको थियो । अभिनन्दन पत्रको बाचन समाजसेवी शोभा श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा सहिद विश्वनाथ घिमिरेका नाति निरज घिमिरेले गरेका थिए भने सभापतित्व प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले गरेका थिए । सहिद घिमिरेका परिवारका सदस्यहरुको सो अवसरमा उपस्थिति थियो ।

कार्यक्रममा सहिदका परिवारहरु काइली छोरी भुवादेवी ढुंगाना घिमिरे, साइला छोरा भगिरथ घिमिरे, माइली बुहारी हेमकुमारी घिमिरे, कान्छी बुहारी राधिका घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु