नारी सञ्चार गृहले घोषणा गर्याे , एक लाख राशीको पत्रकारिता पुरस्कार

2022-09-03 मा प्रकाशित

विर्तामोड, १८ भदौ । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृहले एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।

गृहको ११ औं स्थापना दिवसमा आज यहाँ आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई वर्षमा एकपटक वितरण गर्नेगरी एक जना पत्रकार महिलालाई १ लाख १ हजार १ सय रुपैयाँ नगदराशीको पत्रकारिता पुरस्कार दिइने बताइन् ।

पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको छ । यो पुरस्कार प्रदेश–१ का पत्रकार महिलाले पाउनेछन् ।

गृहले दुई वर्षमा एकपटक बाँड्ने गरी २५ हजार ५ सय रुपैयाँको नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । यो चाहिँ झापाका पत्रकारहरुले मात्र पाउनेछन् ।

पुरस्कार वितरण गर्नका लागि गृहले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । कोषको व्याजबाट पुरस्कार वितरण गरिने भएको छ ।

संस्थाको स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि प्रदेशका यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे र विशेष अतिथि नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ रहेकी थिइन् ।

अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत तथा संस्थाको परिचय संस्थापक अध्यक्ष साबित्रा दाहालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु