प्रतिनिधि सभा निर्वाचन ः झापा १ मा पुनः कोइराला र शर्मा बीच प्रतिष्पर्धा हुने

2022-09-06 मा प्रकाशित

मेचीनगर । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पुन ः एमालेका रविन कोइराला र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच प्रतिष्पर्धा हुने भएको छ ।
२०७० सालको प्रतिनिधि सभा निर्वाचनमा यी दुवै उम्मेदवारहरू प्रतिस्पर्धामा हुँदा कोइरालाले शर्मालाई पराजित गरेका थिए । नौ वर्षपछि यी दुवै नेताहरू फेरी आमनेसामने हुने भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले झापा क्षेत्र नं १ बाट रविन कोइरालालाई संघीय सांसदको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ भने नेपाली कांग्रेसले पनि महामन्त्री शर्मालाई सर्वसम्मत सिफारिस गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी झापाका इन्चार्ज मोहन काजीका अनुसार संघीय सांसदका लागि आकांक्षीहरुको नाम संकलन गर्दा कोइराला बाहेक कसैले पनि आफूलाई प्रस्ताव गरेनन् । कोइरालालाई सबैले तालि बजाएर समर्थन गरेका छन् । कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज हुन् ।

२०७४ को निर्वाचनमा पनि शर्मा उम्मेदवार थिए तर बाम गठबन्धनका राम कार्कीसँग दुई हजार ८६३ मतले पराजित हुन पुगे । महामन्त्री भएको कारणले गर्दा यसपटक सो क्षेत्र आफूले पाउँनुपर्ने शर्माको दावी छ । अघिल्लो पटक सो क्षेत्रबाट निर्वाचित भएका कार्कीलाई भने गठबन्धनले अरू कुनै क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरेको बुझिएको छ ।

झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् ।

केटिएम दैनिकबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु