उत्कृष्ट विद्यार्थी, पूर्व शिक्षक र कर्मचारीलाई मेचीनगर शिक्षा शाखाको सम्मान

2022-09-08 मा प्रकाशित

मेचीनगर । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर नगरपालिका शिक्षा शाखाले विभिन्न विधाका दर्जनौँ उत्कृष्टलाई सम्मान गरेको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी, सेवा निवृत्त शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्व तथा प्रदेश संसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मैनालीले सामुदायिक विद्यालयको शैक्षिक स्तर अझै सुधार गर्दै गरिवीको रेखामुनी रहेका बालबालिकाको अवस्था कस्तो छ ? त्यसको अध्ययन गरेर उनीहरुलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनेतर्फ स्थानीय सरकार र शिक्षा शाखा लाग्नुपर्ने बताए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेलले मेचीनगरमा १३२ वटा सामुदायिक र संस्थागत विद्यालय रहेको र केही विद्यालय नमूना विद्यालयको रुपमा स्थापित भएको बताइन् । उनले नगरका सबै विद्यालयको शैक्षिकस्तर सुधार गरेर नमूना विद्यालयको रुपमा विकास गर्ने बताइन् ।

कार्यक्रममा निजी विद्यालयको तर्फबाट प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोख्रेललगायतले शिक्षामा सुधार ल्याउन नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा २०७८ सालको नगरस्तरीय कक्षा ८ को परीक्षमा संस्थागत तथा सामुदायिक विद्यालबाट उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, २०७८ सालको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्राछात्रा, नगरका विभिन्न विद्यालयबाट सेवा निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

नगरपालिकाले सेवामा रहँदै मृत्युवरण गरेका शिक्षकका परिवार सदस्यलाई समेत सम्मान गरेको छ । त्यसैगरी, नगरपालिकाले विद्यालय क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराएर सहयोग गरेको भन्दै रोटरी क्लव काँकरभिट्टालाई पनि सम्मान गरेको छ । उक्त सम्मान क्लवका अध्यक्ष सुजन प्रधानले ग्रहण गरेका थिए । सम्मानित सबैलाई प्रमुख अतिथि मैनाली, उपप्रमुख मीना उप्रेती तथा अतिथिहरुले टिका खादा र सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यालयको रोचक प्रस्तुती रहेको थियो । विद्यालयले आफूलाई अब्बल सावित गर्न नृत्यको रोचक प्रस्तुती रहेको थियो । उनीहरुलाई आयोजकले सम्मान समेत गरेको छ । मेचीनगर शिक्षा शाखा अधिकृत पवित्रा ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु