झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन

2022-10-10 मा प्रकाशित

कनकाई  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ ।

हालै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र रुपमा आफ्नो उम्मेद्वार दर्ता गराएकी हुन् । त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीबाट क्षेत्र अन्तर्गत प्रदेश(क)मा संगीता नेम्बाङले आफ्नो उम्मेद्वारी मनोनयन गराएकी छन् ।

राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले निवर्तमान संघीय सांसद एलपी साँवा लिम्बूलाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्वार खडा गराएको छ । त्यस्तै माओवादीसहित ५ दलको गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउमान थेवेलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाएको छ । साँवा र थेवेसहित प्रतिनिधि सभा सदस्यकालागि २०जनाले उम्मेद्वारी मनोनयन गराएका छन् । त्यस्तै क्षेत्र अन्तर्गतको प्रदेश (क) मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले र प्रदेश (ख) मा १३ जना गरी जम्मा ४३ जनाले उम्मेद्वारी मिनोनयन गराएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकामा भएको उम्मेद्वारी मनोनयका क्रममा सबैभन्दा बढी उमेरका ८१ वर्षीय जयप्रसाद चम्लागाईँले स्वतन्त्र तर्फ प्रदेश (ख) मा आफ्नो उम्मेद्वार दर्ता गराएका छन् भने सबैभन्दा कम उमेर भएका २७ वर्षीय किरण श्रेष्ठले समेत प्रतिनिधि सभा सदस्य पदकालागि उम्मेद्वारी मनोनयन गराएका छन् ।

झापाको क्षेत्र नं.४ मा ६१ हजार १ सय १ महिला र ६२हजार २२ पुरुष साथै अन्य १ गरी जम्मा १ लाख २३ हजार १२४ मतदाता संख्या रहेको बताइएको छ । विभिन्न स्थानमा गरी ६३ मतदान स्थल रहेको यस क्षेत्रमा १४९ वटा मतदान केन्द्र रहने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु