साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ

2022-10-10 मा प्रकाशित

झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।

अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

गत असोज १८ गते  साविक ताप्लेजुङ्ग सिदिम्वा गाविस ४ सुरुमखिम घर भई हाल अर्जुनधारा ११ स्थित बसपार्क एरियामा बस्तै आएका गुरुङ्को लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

घटनामा संलग्न थप जना फरार रहेकाले उनको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । विजया दशमीको फुलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजितको बिषयलाई लिएर विवाद भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई साथीहरुले टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारनीका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु