बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

2022-10-15 मा प्रकाशित

डम्बर बराल

बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको छ ।
बैद्धमोड विकास संस्थाका अध्यक्ष छविलाल काफ्लेको सभापतित्व तथा मेचीनगर वडानम्बर–२ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  प्रमुख अतिथि बरालले वडाको समग्र विकास आफ्नो जिम्मेबारी भएको बताउँदै बौद्धमोड बजार क्षेत्रलाई अझ व्यवस्थित गर्न समितिसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि समाजसेवी सचिन निरौलाले बौद्धमोड क्षेत्रलाई शिक्षाको हबको रुपमा विकास गर्नु पर्ने धारणा राखे । बौद्धमोड क्षेत्रमा केही वर्ष यता विकासले गति लिएको छ । निरौलाले भने, सडक विस्तार सँगै यहाँको व्यापार फष्टाउँदै गएको छ । अव सबैले हातेमालो गरेर यस क्षेत्रलाई शिक्षाको हवको रुपमा विकास गर्नु पर्छ ।’ यस किसिमको अभियानमा बौद्धमोड विकास संस्थाले अग्रसरता दिलुपर्ने उनको भनाई थियो ।


सो अवसरमा जग्गा दाताहरु रमेश रिजाल र तपन निरौलाले व्यवस्थापन समितिले संझौता अनुसार काम गर्न नसकेको भन्दै समितिको काम प्रति असन्तुष्टि जनाएका छन् । मन्तव्यका क्रममा रिजालले भने, बजार व्यवस्थापनको लागि हामीले जग्गा दिएका थियौ तर सम्झौता अनुसार काम भएको छैन । उनले समितिलाई सक्रिया भएर काम गर्न सुझाव समेत दिए । अर्का जग्गदाता तपन निरौलाले आफूले मन्दिर निर्माणको लागि दिएको जग्गामा हाल सम्म समितिले मन्दिर निर्माणमा पहल नगरेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा कृष्ण थुम्की सहकारी संस्थाका अध्यक्ष हिम्मत क्षेत्री, वरिष्ट संगीतकार भरत लामा , बौद्धमोड विकास संस्थाका संस्थापक अध्यक्ष नरेन्द्र काफ्ले  लगायतका बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा बौद्धमोड टोलविकास संस्थाका अध्यक्ष भीम चौलागाईँ ,  पूर्व अध्यक्ष हरिचन्द्र रिजाल, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा तीन जना पुराना तथा सक्रिय व्यवसायीहरुलाई सम्मान पत्र सहित खादार टिका लगाएर सम्मान गरिएको कार्यबहाक सचिव नारद ढुंगानले जानकारी दिए ।
उपाध्यक्ष केशर बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह सहसचिव लाख बहादुर साँवाले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु