मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

2020-07-06 मा प्रकाशित

झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने नियम कडाईका साथ लागू गरिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु