गठबन्धनका उम्मेद्वार- मतदाताका गुनासा सुन्दै भोट माग्दै

2022-11-05 मा प्रकाशित

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ ।
झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि गर्न सक्ने योजनाका विषयमा अन्तरसम्वाद गरेका छन् ।
गठबन्धनका उम्मेद्वारहरुले झापा क्षेत्र नं- १ का समस्यालाई नजिकबाट बुझेको र जितेर गएपछि योजनालाई प्रदेश तथा राष्ट्रिय स्तरबाट कार्यान्वयनको तहमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले झापा क्षेत्र नं-१ लाई जनताले अनुभूति गर्नेगरी नमूना क्षेत्रको रुपमा विकास गरिने वचन पनि दिए ।
झापा क्षेत्र नं। १ का उम्मेद्वार शर्मा र प्रदेशका उम्मेद्वार तामाङले शनिबार भद्रपुर-९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्दै उम्मेद्वार शर्माले मत मागेका छन् । घरदैलो अभियानमा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायत गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।
यस्तै, प्रदेश “ख” अन्तरगत बुद्धशान्ति ४ र ५ मा शनिवार प्रतिनिधि सभा उम्मेदवार शर्मा र प्रदेश “ख” का प्रदेश सभा उम्मेद्वार श्यामविर लिम्बूले मतदातालाई भेट गरे । शर्मा सो क्षेत्र पुग्दा मतदाता उत्साहित बनेका थिए । गठबन्धनलाई जिताए आफ्नो क्षेत्रको साझा समस्याको रुपमा रहेको सुकुम्बासी समस्या समाधान हुने मतदाताले विश्वास गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु