क्यान्सर विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन मेचीनगरमा सुर

2022-11-05 मा प्रकाशित

मेचीनगर, १९ कात्तिक । झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ ।

विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बंगलादेशका २०० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ ।

होटल मेची क्राउनको सभाहलमा आज विहान सुरु भएको सो सम्मेलन कार्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् सम्मेलनका कार्यक्रम निर्देशक डा। वीरेन्द्र यादवले जानकारी दिए ।

विश्वभरि भयावह रुपमा फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय अनुभव सम्मेलनका सहभागीबीच आदानप्रदान हुने उहाँले बताए ।

सम्मेलनमा विज्ञहरुका २० वटा वैज्ञानिक कार्यपत्र र १० वटा पोस्टर कार्यपत्र प्रस्तुत हुने भएको छ । यस्ता सम्मेलनहरु ठूला देश र सहरमा मात्र आयोजना हुने गरेकोमा झापामा आयोजना हुनु गौरवको विषय भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा। निराजन प्रसाईले बताए ।

सम्मेलनमा भएका छलफल र अनुभवको विनिमयले क्यान्सरको उपचारमा नयाँ प्रविधिको प्रयोग बढ्ने र यसबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाको गुणस्तर विश्वस्तरीय बन्ने भारतको दिल्लीस्थित सर्वोदय क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा। दिनेश पेन्दावरले सम्बोधनका क्रममा बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु