जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : बजगाई

2022-11-06 मा प्रकाशित

दुहागढी, २० कार्तिक । झापा १ प्रदेश (ख)की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् ।

आइतबार मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए ।

‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सरल र शालीन स्वाभावकी बजगाई दुहागढी निवासी हुन् । उनले गाउँका समस्याहरु बारे आफु अवगत रहेको हुँदा प्रदेश सांसद् बनेपछि कहाँ कसरी विकास गर्नुपर्ने भन्ने विषयमा सहज हुने स्थानीयबासीलाई आश्वस्त बनाइन् ।

स्थानीय ८० वर्षीय देबजित चौहानले नागरडुब्बाबाट दक्षिण जाने सडकहरुमा ध्यान दिन आवश्यक रहेको बताउँदै कच्ची सडकका कारण धुलो खानु परेको गुनासो सुनाए । उम्मेद्वार बजगाईले आफ्नो गाउँको विकासमा ध्यान दिनेमा आफु आश्वस्त भएको चौहानले बताएका छन् ।

घरदैलो कार्यक्रमको नेतृत्व नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाईले गरिरहेका छन् । प्रसाईले नेकपा एमालेको एक्लै बहुमत रहेको यस क्षेत्रमा राप्रपालाई एमालेका समर्थन रहेको हुँदा सबिना बजगाईको जित सुनिश्चित रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु