आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यकछ : शर्मा

2022-11-07 मा प्रकाशित

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको समृद्धिको खाका आफैले कोरेकोले अव आफ्नो ठाउँको विकासको लागि सबै पार्टी र मतदाताको मत आवश्यक रहेको बताएका छन् ।

झापा– १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले सोमबार मेचीनगर  – २ स्थित दीपज्योति टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पार्टीमा युवाले नेतृत्व लिनुपर्छ भनेर आफूले अगुवाइ गरेको मुद्दा स्थापित बन्दै गएको तथा संसद् र सरकारमा पनि युवाको अधिकतम् प्रतिनिधित्व भए देश विकासका लागि सहज हुने उनको धारणा छ । शर्माले भूगोल र भावना बुझेका गठबन्धनका उम्मेद्वारलाई जिताउन आफ्ना ठाउँबाट मत दिन आव्हानसमेत गरे । ‘गठबन्धनलाई जिताउन एमाले पार्टीमा आबद्ध साथीहरुको सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘तपाईहरु जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमै बस्नोस् । तर, यसपाली संघमा म विश्वप्रकाश, प्रदेशमा गोपाल र श्यामवीर जीलाई भोट दिएर जिताउनु होस् ।’
उनले विश्वप्रकाश शर्मा कहिले नथाक्ने पनि स्पष्ट पारे । ‘म यसअघि दुई पटक उपविजेता भएँ,’ उनले भने, ‘तर, विश्वप्रकाश हार्दैन पनि थाक्दैन नि ।’ काँग्रेसका महामन्त्री समेत रहेका शर्माले भृकुटी बजार जोड्ने सडक कालेपत्रेका लागि सरकारबाट बजेट विनियोजन भएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा जनताको काम गर्ने वचन दिए । उनले यस क्षेत्र विकासका निम्ति सदैव लागि पर्ने विश्वास दिलाए ।
सो अवसरमा एमाले कार्यकर्ता युवराज प्रधानको नेतृत्वमा सो गाउँका १३० भन्दा बढी व्यक्ति एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानसहित कांग्रेसमा प्रवेश गर्नेहरू लामो समयदेखि एमालेमा सक्रिय थिए । पटकपटक एमाललेलाई मत दिएर जिताउँदा पनि आफ्नो गाउँको विकास नभएको र आफूहरूलाई फर्केर पनि नहेरेपछि दिक्क लागेर कांग्रेसमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।
। उनीहरूलाई उम्मेदवार शर्मा, झापा–१ ‘क’ का उम्मेदवार गोपाल तामाङ, नेता कट्टेललगायतले अबिर र खदा पहि¥याएर कांग्रेसमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, काँग्रेस प्रदेश ‘क’ सभापति हरि बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । काँग्रेस वडा नं २ का वडा सभापति राजु रिजालको अध्यक्षता तथा माओवादी केन्द्रका नेता गोपी रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु