दुना–टपरी उद्योगमा आगलागी

2022-11-07 मा प्रकाशित

मेचीनगर, २१ कार्तिक । मेचीनगर–९ स्थित लिफ प्लस प्रालिको दुना–टपरी उद्योगमा गए राति भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ ।

मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज विहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट रु। दुई करोडको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए ।

सो उद्योगले सुपारीको सुकेका पातलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन यूरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो ।

“राति साढे १२ बजेतिर कारखाना भवनका छिमेकीले आगलागी भयो भन्दै गाउँलेहरुलाई बोलाएपछि हामी हतारहतार पुग्यौं,” सञ्चालक हरि दाहालले भने–“हामी पुग्दा उद्योगका सबै सामान जलेर सत्यनाश भइसकेको रहेछ ।”

झापामा सुपारी खेती हुने गरेको छ । खेर गइरहेको सुपारीको पातलाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयबासीले समेत यसबाट मनग्य लाभ लिन थालेका थिए ।

हरि दाहाल, स्वाभिमान आचार्य, बिधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कठ्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले उद्योगमै प्रत्यक्ष रोजगारी पाएका थिए भने पात संकलन कार्यमा सयौंले काम पाउँदै आएका थिए ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु