2026-06-25 मा प्रकाशित
आज मानव सभ्यता विज्ञान, प्रविधि र भौतिक उन्नतिको अभूतपूर्व शिखरतर्फ अघि बढिरहेको छ। संसार साँघुरिँदै गएको छ; भौगोलिक दूरीहरू घटेका छन्, सूचना आदानप्रदान क्षणभरमै सम्भव भएको छ, र आधुनिक सुविधाले जीवनलाई सहज बनाएको छ। तर यही प्रगतिको बीचमा एउटा गम्भीर प्रश्न हाम्रो सामु उभिएको छ—के मानिस वास्तवमै मानिससँग नजिकिएको छ? विडम्बना के छ भने, बाह्य रूपमा संसार नजिकिँदै जाँदा हृदयहरू भने टाढिँदै गएको अनुभूति हुन्छ ।
सम्बन्धहरू यान्त्रिक बन्दै गएका छन्, आत्मीयता क्षीण हुँदै गएको छ, सहनशीलता घट्दै छ, र प्रेमभन्दा स्वार्थ बलियो बन्दै गएको छ। परिवारभित्र दूरी बढेको छ, समाजमा विभाजन गहिरिएको छ, र राष्ट्रहरूबीच समेत अविश्वासको छायाँ फैलिँदै गएको छ। यस्तो संक्रमणकालीन अवस्थामा मानवतालाई फेरि आफ्नो मूल स्वरूप सम्झाइदिने एउटा दिव्य शक्तिको आवश्यकता महसुस हुन्छ—त्यो शक्ति हो प्रेम। भगवान् श्री सत्य साई बाबाको सम्पूर्ण जीवन र शिक्षाको केन्द्रबिन्दु यही प्रेम थियो। उहाँले बारम्बार स्मरण गराउनुभयो—मानवको वास्तविक धर्म कुनै बाह्य पहिचान होइन; उसको सच्चा धर्म प्रेम हो। यही कारण उहाँको सन्देश कुनै विशेष समुदाय, सम्प्रदाय वा सीमाभित्र बाँधिँदैन। उहाँको प्रेम सार्वभौमिक थियो, समावेशी थियो, र सम्पूर्ण सृष्टिलाई अँगाल्ने खालको थियो । स्वामीको सन्देश सरल छ, तर अत्यन्त गहिरो— There is only one Caste, the Caste of Humanity → केवल एउटा जात छ — मानव जात। There is only one Language, the Language of the Heart → केवल एउटा भाषा छ — हृदयको भाषा। There is only one Religion, the Religion of Love → केवल एउटा धर्म छ — प्रेमको धर्म। There is only One God, He is Omnipresent → केवल एउटै भगवान हुनुहुन्छ — जो सर्वव्यापी हुनुहुन्छ । यी वचन केवल सुन्नका लागि होइनन्; यी त मानव सभ्यतालाई फेरि प्रेम, एकता र मानवताको मूल मार्गमा फर्काउने दिव्य घोषणाहरू हुन्। यसैलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको “श्री सत्य साई प्रेम प्रवाहिनी रथ यात्रा” केवल एउटा रथयात्रा मात्रै होइन; यो प्रेम, सेवा, एकता र मानवताको जीवित सन्देश हो। स्वामी भन्नुहुन्छ, “Love All, Serve All” “Help Ever, Hurt Never” यी केवल सुन्दर वाक्य होइनन्; यी जीवन दर्शन हुन्। यदि यी सिद्धान्तलाई मानव जीवनमा उतार्न सकियो भने व्यक्तिगत जीवनदेखि समाज र विश्वसम्म परिवर्तन सम्भव हुन्छ ।यही दिव्य शिक्षालाई जनमानससम्म सशक्त रूपमा पुर्याउने उद्देश्यले आयोजना गरिएको “श्री सत्य साई प्रेम प्रवाहिनी रथ यात्रा” को महत्त्व केवल एउटा धार्मिक वा औपचारिक कार्यक्रमको रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो रथ यात्रा वास्तवमा एउटा आन्तरिक जागरण अभियान हो। यो बाहिरी सडकमा गुड्ने रथ मात्र होइन; यो मानिसको अन्तर्मनसम्म पुग्ने प्रेमको चेतना हो। रथ यात्रा किन? किनभने रथ सधैँ यात्राको प्रतीक हो—गतिशीलताको प्रतीक, परिवर्तनको प्रतीक। स्थिर पानीजस्तो प्रेम पनि यदि केवल हृदयभित्र सीमित रह्यो भने त्यसको प्रभाव सीमित हुन्छ। प्रेम तब जीवित हुन्छ जब त्यो बग्छ, बाँडिन्छ, फैलिन्छ। यही कारण “प्रेम प्रवाहिनी” शब्द अत्यन्त अर्थपूर्ण छ—प्रेम नदीजस्तै निरन्तर बगिरहनुपर्छ। यो रथ जहाँ पुग्छ, त्यहाँ केवल एउटा सांस्कृतिक कार्यक्रम पुग्दैन; त्यहाँ एउटा सन्देश पुग्छ— घृणाभन्दा प्रेम ठूलो छ। विभाजनभन्दा एकता शक्तिशाली छ। अहंकारभन्दा सेवा श्रेष्ठ छ। नेपालका लागि यो रथयात्रा झन् विशेष छ, झन् ऐतिहासिक छ। नेपालमा श्री सत्य साई सेवा संगठन नेपालद्वारा पहिलो पटक यस्तो दिव्य प्रेम प्रवाहिनी रथ यात्रा हुन लागिरहेको छ। बाबाको शताब्दी वर्षको पावन अवसरमा भाद्र २२ गते नेपाल प्रवेश गरेर यो दिव्य रथ करिब ४० दिनसम्म नेपालका विभिन्न स्थानमा यात्रा गर्नेछ। देशका अनेक शहर, गाउँ र समुदायसम्म पुग्दै यसले प्रेम, शान्ति र सेवाको सन्देश फैलाउनेछ। सोच्नुस् त— जुन पुट्टापर्ति, जहाँ पुग्न हजारौँ भक्तले वर्षौँसम्म प्रतीक्षा गर्छन्, जहाँ पुग्न धेरैका लागि सपना मात्र रहन्छ, त्यो पवित्र अनुभूति अब हाम्रै आँगनमा आउँदैछ। मानौँ, पुट्टापर्ति आफैँ नेपाल आउँदैछ। स्वामीको प्रेम, करुणा र दिव्य स्पर्श घरदैलोमा आइरहेको छ। यस्तो अवसर बारम्बार आउँदैन। यस्तो सौभाग्य घरिघरि प्राप्त हुँदैन। सायद जीवनमा एकपटक मात्र आउने दिव्य अवसर हुन सक्छ। इतिहास सधैँ पढिने मात्र होइन, बाँचिने पनि हो। केही क्षण यस्ता हुन्छन्, जसले पुस्तौँसम्म स्मृति छोड्छन् । यो रथयात्रा त्यस्तै क्षण बन्न सक्छ। भोलि सन्तानले सोध्न सक्छन्— “नेपालमा पहिलो प्रेम प्रवाहिनी रथ यात्रा हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो?” त्यो बेला हाम्रो उत्तर गर्वले भरिएको होस्— “हामी त्यहाँ थियौँ। हामी स्वागतमा उभिएका थियौँ। हामी प्रेमको यात्राका साक्षी बनेका थियौँ। हामीले एउटा गहिरो सत्य बुझ्न आवश्यक छ—समाज परिवर्तन गर्ने सबैभन्दा प्रभावकारी माध्यम भाषण होइन, आचरण हो। स्वामीले प्रचारभन्दा चरित्रलाई प्राथमिकता दिनुभयो। उहाँले चाहनुभयो कि भक्तजनहरूले शब्दले होइन, आफ्नो जीवनद्वारा प्रेमको साक्षी बनून् ।त्यसैले यो रथ यात्रामा सहभागिता केवल उपस्थितिमात्र होइन; यो एउटा संकल्प पनि हो—आफ्नो जीवनलाई प्रेम, सेवा र सदाचारले उज्यालो बनाउने संकल्प। आज संसारलाई नयाँ विचारभन्दा बढी आवश्यक छ—नयाँ हृदय। त्यस्तो हृदय, जसमा करुणा होस्। त्यस्तो हृदय, जसमा क्षमा होस्। त्यस्तो हृदय, जसमा परोपकार होस् । प्रेम प्रवाहिनी रथ यात्राले यही हृदय निर्माणको बाटो देखाउँछ। यस दिव्य अवसरमा हामी सबैले स्वयंलाई एउटा प्रश्न सोध्न सक्छौँ— हामी प्रेमको कुरा मात्र गरिरहेका छौँ कि प्रेम बाँडिरहेका पनि छौँ ? हामी सेवा प्रशंसा पाउन गरिरहेका छौँ कि निःस्वार्थ भावले गरिरहेका छौँ ? हामी ईश्वरलाई मन्दिरमा मात्र खोजिरहेका छौँ कि मानव सेवामा पनि अनुभव गरिरहेका छौँ ?
यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास नै आध्यात्मिक यात्राको आरम्भ हो । त्यसैले “श्री सत्य साई प्रेम प्रवाहिनी रथ यात्रा” मा सहभागी हुनु केवल कार्यक्रममा उपस्थित हुनु होइन; यो प्रेमको महायज्ञमा आहुति दिनु हो। यो एकताको उत्सवमा सहभागी हुनु हो । यो मानवताको उज्यालो भविष्य निर्माण गर्ने साझा संकल्पमा जोडिनु हो । त्यसैले, यस दिव्य अवसरमा हामी सबैलाई हार्दिक आह्वान छ— आउनुहोस्, स्वागतका लागि एकजुट बनौँ । आउनुहोस्, प्रचार–प्रसारमा जुटौँ । आउनुहोस्, घरघरमा प्रेमको सन्देश पुर्याऔँ। आउनुहोस्, हरेक हृदयमा साईको प्रेमको दीप प्रज्वलित गरौँ । केवल आफू मात्र होइन, आफ्नो परिवार, आफन्त, साथीभाइ, छिमेकी—सबैलाई साथ लिएर सहभागी बनौँ। कसैलाई पनि यो दिव्य अवसरबाट वञ्चित हुन नदिऔँ। सबैले भगवानको प्रेम, कृपा र आशिर्वाद प्राप्त गर्ने वातावरण बनाऔँ। किनकि अन्ततः— प्रेम जहाँ हुन्छ, त्यहीँ भगवान् हुन्छन्। र जहाँ भगवान् हुन्छन्, त्यहाँ शान्ति, आनन्द र पूर्णता स्वतः उपस्थित हुन्छ। पुट्टापर्ति हाम्रो आँगनमा आउँदैछ। प्रेम हाम्रो ढोकामा ढकढक्याउँदैछ। अब प्रश्न एउटै छ— के हामी स्वागतका लागि तयार छौँ? जय साई राम ।लेखक : श्री कविन्द्र श्रेष्ठ श्री सत्य साई केन्द्रीय ट्रष्टकाे कार्यसमिति सदस्य तथा रथयात्रा राष्ट्रिय समिति सदस्य हुन् ।

आज मानव सभ्यता विज्ञान, प्रविधि र भौतिक उन्नतिको अभूतपूर्व शिखरतर्फ अघि बढिरहेको छ। संसार साँघुरिँदै गएको छ; भौगोलिक दूरीहरू घटेका छन्, सूचना आदानप्रदान क्षणभरमै सम्भव भएको छ, र आधुनिक सुविधाले जीवनलाई सहज बनाएको छ। तर यही प्रगतिको बीचमा एउटा गम्भीर प्रश्न हाम्रो सामु उभिएको छ—के मानिस वास्तवमै मानिससँग नजिकिएको छ? विडम्बना के छ भने, बाह्य रूपमा संसार नजिकिँदै जाँदा हृदयहरू भने टाढिँदै गएको अनुभूति हुन्छ ।
प्रतिकृया दिनुहोस्