झापा १ निर्वाचन– गठबन्धन दलको भोलि धुलाबारीमा बृहत आमसभा

2022-11-16 मा प्रकाशित

मेचीनगर । गठबन्धन दलले भोलि (विहीबार) मंसिर १ गते मेचीनगरको धुलाबारीमा चुनावी आमसभा गर्ने भएको छ । घरदैलो अभियान पछि कोण सभालाई तीब्रता दिँदै आएको गठबन्धन दलले बिहीबार अन्तिम चुनावी सभा गर्ने नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । धुलाबारी मोडमा दिउँसो ३ बजे आयोजना हुने चुनावी आमसभालाई झापा–१ का संघीय उम्मेदवार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ, प्रदेश (ख) का उम्मेदवार श्यामविर लिम्बूलगायतले सम्बोधन गर्ने छन् । कार्यक्रमलाई थप रोचक बनाउन राष्ट्रिय कलाकारहरु शम्भू राई, यशकुमार, रचना रिमाल, राजेश घतानी र हास्यकलाकार जोगिन्दर पानवाला लगायतका ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुति रहनेछ । यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री शर्मासहित गोपाल तामाङ र श्यामविर लिम्बूलाई विजयी गराउन गठबन्धन दल, जेष्ठ नागरिकदेखि युवा जनशक्ति र एमालेका शुभेक्षुकहरु उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुने आयोजकले जनाएको छ । शर्मा देशकै मार्गचित्र कोर्न सक्ने उर्जाशील युवा भएको र भविष्यमा प्रदेश १ ले प्रधानमन्त्री पाउनेमा यहाँका मतदाता विश्वस्त रहेकाले चुनावी सभामा ठूलो संख्यामा पार्टी कार्यकर्ता, मतदाता र शुभेच्छुकहरु सहभागी हुने नेपाली काँग्रेसका क्षेत्रीय सभापति बुढाथोकीले जनकारी दिए । शर्मासहितको सिंगो टिमलाई विजयी गराउन यस क्षेत्रका मतदाता आतुर रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु