गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा शक्ति प्रदर्शन

2022-11-17 मा प्रकाशित

धुलाबारी, १ मंसिर । चुनावी प्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं. ९, १० र १५ केन्द्रित कोणसभामा हजारौँ गठबन्धनका समर्थकहरु सहभागी भएका हुन् । हजारौँ समर्थक सहभागीले संघका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ, (ख) का उम्मेदवार श्यामविर लिम्बूको जित पक्का भएको सन्देश दिएको छ । चर्चित राष्ट्रिय कलाकारको उपस्थितिमा सम्पन्न कोण सभालाई मनोरञ्जनात्मक ढंगले सञ्चालन गरिएको थियो । गायक शम्भू राई, राजेशपायल राई, यशकुमार, रचना रिमाल, राजेश घतानी, चलचित्र निर्देशक हेमन्त बुढाथोकीलगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संघका साझा उम्मेदवार विश्वप्रकाश शर्माले जनताको उत्साह र जाँगरले गठबन्धन दलहरुमा थप हौसला मिलेको बताए । हौसला र समर्थनले मंसिर ४ गते परिणाम आउनेमा ढुक्क रहेको बताए । शर्माले यो क्षेत्रसहित समग्र देशको विकास गर्न गठबन्धन दलहरु तयार रहेकाले कुन अलमल र भ्रममा नपरी मतदान गर्न अपिल गरे । प्रदेश (क) का उम्मेदवार गोपाल तामाङले जनताको अभिमतलाई जहिलै कदर र सम्मान गर्ने बताए । उनले राजनीतिलाई कमाइ खाने भाँडो नबनाउने र जनताकै दुःखसुखमा साथ र सहयोग गरिरहने वचन दिए । कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार श्यामविर लिम्बूले गठबन्धनको जित जनताको जित भएको बताए । उनले प्रदेश चाहिँदैन भन्ने पार्टीले उम्मेदवारी दिनु ठीक या बेठीक छुट्याउन मतदातालाई आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रखर युवा नेता रञ्जित तामाङले राष्ट्रकै नेतृत्व गर्न सक्षम युवा नेता क्षेत्र नं १ ले पाउनु गर्वको विषय भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, संविधान सभा सदस्य उषा गुरुङ, संघका समानुपातिक उम्मेदवार तारा रुचाल, भरत सुब्बा, एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य अशेष घिमिरेलगायतले गठबन्धनको जित आवश्यक रहेको बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकीको अध्यक्षता तथा तथा माओवादी केन्द्रका नेता राजु दाहालको सञ्चालनमा भएको कार्यक्रममा एमाले पार्टी परित्याग गरी गठबन्धनको महान अभियानमा जोडिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु