मेचीनगर –स्थित पाथीभरा मन्दिरमा आजबाट श्रीमद् देवी भागवत महापुराण सुरु

2022-12-26 मा प्रकाशित

सुरेन्द्रनगर÷ मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आजबाट श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।
नवाह ज्ञान महायक्षको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले पुराणले समाजमा धार्मिक जागरण ल्याउने बताए । धार्मिक जागरणले मानिसलाई अनुशासित बनाउँछ । समाजमा एकता र सद्भाव कायम हुन्छ । प्रमुख अतिथि बुढाथोकीले भने, ‘आज देश र समाजमा बेथिति र अराजकता बढ्दैछ । मान्छेले मर्यादा अनुशासन भुल्दै गएको छ । त्यसलाई रोक्न पनि धार्मिक जागरका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।’ संस्कारयुक्त समाज निर्माण भए समाज र देशले चाँडै समृद्वि हासिल गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा धार्मिक व्याक्तित्व व्यासाचार्य पं. सोमनाथ सुवेदीले धर्मले समाजलाई सहीबाटोमा डोर्याउने भएकोले समाज रुपान्तरणमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, समाजसेवी तारानाथ गिरी लगायतको आतिथ्यता रहेको थियो ।
अन्जना भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमर सुब्बाले गरेका थिए ।


औपचारिक कार्यक्रम पूर्व बिहान ११ बजे बिभिन्न झाँकी सहित कलश यात्रा निकालिएको थियो । पुराण स्थलबाट सुरु भएको शोभायात्रा माङ्हिम घैलाडुब्बा मन्दिर, मेचीनगर ८ को दुर्गा मन्दिर हुँदै पुराण स्थल पुगेको थियो ।
आयोजक समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट पाथीभरा माताको जिर्ण मन्दिर पुनः निर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले बताए ।
स्थानीय समाजसेवी लक्ष्मी प्रसाद श्रेष्ठले केही वर्ष अघि व्याक्तिगत रुपमै सानो मन्दिर निर्माण गरेर पूजा आरधना गर्दै आएका थिए । उक्त मन्दिर एक वर्ष अघि उनले समुदायलाई हस्तान्तरण गरेका थिए । मन्दिर समूदायमा आएपछि हामीले विधान बनाएर मन्दिर दर्ता गरिउँ मन्दिर समितिका अध्यक्ष पाठकले भने , ‘सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास छ । पुराणबाट संकलित रकमले मन्दिर पुनःनिर्माण गर्छौ ।’ समाजसेवी लक्ष्मी प्रसादले मन्दिरको लागि करिव १० धुर जमिन निशुल्क प्रदान गरेको समितिले जनाएको छ । व्यासाचार्य पं. सुवेदीले ९ दिनसम्म संगीतमय कथा वाचन गर्ने भएका छन् भने पं.कमल भट्टराई उपवाचक छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु