सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन

2023-01-02 मा प्रकाशित

डम्बर बराल
बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर  बाहुनडाँगी पुगे ।
राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्रपार्टीका जिल्ला तथा नगरका प्रतिनिधि र सञ्चारकर्मीहरुले हात्ती प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
वर्षौदेखि बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरेको समस्यालाई दिगो रुपमा व्यवस्थापन तथा समाधान गर्ने विषयमा छलफल गर्न तथा सो क्षेत्रको अवलोकन गर्न राष्ट्रिय स्वतन्त्रपार्टीको संयोजनमा सो टोली बाहुनडाँगी पुगेको हो ।


स्थलगत अध्ययन पछि दिगो रुपमा समस्या समाधानको लागि सवै क्षेत्रको पलकदमी आवश्यक रहेको सहभागिहरुले जनाएका छन् । सांसद द्धय डाँगी र मगरले बाहुनडाँगीवासीको पीडालाई आफूहरुले बुझेको र दिगो रुपमा हात्ती समस्या समाधानमा आफूहरु लाग्ने प्रतिवद्वता व्यक्त गरे । हामी कुरामा भन्दा पनि काममा विश्वास गर्छौ । सांसद डाँगीले भनिन् ,‘मैले हात्तीको समस्या सुनेको वर्षौ भयो अव यसको दिगो समाधानको लागि हामी पहल थाल्छौं ।’ झापाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले यस विषयमा गम्भीर हनुपर्ने उनको भनाई थियो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय, प्रदेश सरकार र जिल्ला वन कार्यालयले स्थानीय सरकारसँग सहकार्य नगर्दा हात्ती नियन्त्रको लागि प्रभावकारी काम हुन नसकेको बताए । हात्ती नियन्त्रणको लागि तत्काल सोलार फेन्सीङको मर्मत, बाटो निर्माण गर्ने तथा सडकमा बत्ती जडान गर्दा हात्ती नियन्त्रण हुने बताए ।
नगर प्रमुख बुढाथोकीले दिगो रुपमा हात्ती नियन्त्रण गर्न पर्खाल निर्माण गर्नु पर्ने बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय सरकार र वन कार्यालयले हातेमालो गरेर यस किसिमको समस्या हल गर्नु पर्ने सुझाव दिए ।
तत्काल दीर्घकालिन समस्या समाधान नहुन सक्छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘पर्खाल तथा ड्याम निर्माण ठूलो योजनाको काम हो । त्यसको लागि विषय विज्ञहरुसँग बसेर छलफल गर्नू पर्छ तत्काल सोलार फेन्सिङको मर्मत गरौं ।’
जिल्ला वन कार्यालय झापाका डेफूले हात्ती नियन्त्रको लागि जिल्लाभर बिभिन्न काम अघिबढाएको बताए । उनले बाहुनडाँगीको लागि समेत  जिल्ला वन कार्यलयले बजेट छुट्याएकोले सम्झौता गरेर काम थाल्न समितिलाई आग्रह गरे । सो अवसरमा मेचीनगर ४ नम्बर वडाध्यक्ष अर्जुन कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतले हात्तीले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेलले गरेका थिए भने सचिव प्रकाश पाठकले बाहुनडाँगीमा हात्तीले पुर्याएको क्षतिको बारेमा अवगत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु