मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन

2023-01-12 मा प्रकाशित

इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् ।
विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर गर्दै विज्ञप्तीमा नगरमा भएका बिवाद समाधानमा नगरप्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने उल्लेख छ ।
नगरपालिकामा हाल देखिएको गलत गतिविधिको तुरुन्त निराकरण गर्दै नगर विकासका योजना तत्काल अघि बढाउनसमेत विज्ञप्तीमा ध्यानाकर्षण गराइएको छ । ९ बुँदे ज्ञापन पत्रको सुरुवातमा गैर कानुनी ढंगबाट प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने, अख्तियारी स्थगन गर्ने, कार्यालयमा हाजिर हुन जाँदा अवरोध गर्ने तथा जनताको सेवा लिन पाउने नैसर्गिक अधिकारको कुन्ठित गर्दै कानुनी राज्यको उपहास गरिएको उल्लेख छ । सो कार्य तत्काल बन्द गरी अधिकृतलाई हाजिर गराई जनताको कामलाई सुचारु गराउन माग गरिएको छ ।
त्यस्तै, नदीजन्य पदार्थको अनियमित ढंगबाट दोहन तथा चोरी निकासी गरी राजश्व अपचलन भएकाले प्राविधकिसहितले अनुगमन गरी उत्खनन् परिमाणबारे रिपोर्ट सार्वजनिक गर्न तथा विगतमा गरिएका उत्खनन्को वैधता यकिन गरी सत्य तथ्य सार्वजनिक गर्न भनिएको छ ।
जग्गा वर्गिकरणको कार्य मेचीनगरमा अवरुद्ध भएको उल्लेख गर्दै जिल्लाका अन्य पालिका सूचारु भएका योजना मेचीनगरमा किन हुन नसेको भन्दै ज्ञापन पत्रमा प्रश्न गरिएको छ । पत्रमा नगर क्षेत्रमा बसोवास गर्ने भूमिहीन नागरिकको धनिपूर्जा प्राप्तिको प्रकृया अघि नबढाइको उल्लेख छ ।
सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीको आर्थिक पारदर्शीता तथा सेवा प्रवाहसम्बन्धमा समेत ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्रमा प्यारिभिट्टा बसपार्कको शीघ्र सञ्चालन, अतिक्रमणमा परेका सार्वजनिक जग्गाहरु खाली गर्न, कृषि मण्डी नबन्नुको कारण सार्वजनिक गर्न तथा हचुवाको भरमा नभई जनसरोकार र आवश्यकताका आधारमा कार्य अघि बढाउन ध्यानाकर्षण गराइएको छ ।
नगरपालिका कार्यालय प्रवेश ढोकाअघि विज्ञप्ती बुझ्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको काममा कर्मचारीकै कारण अवरोध सिर्जना भएको देखिएकाले अख्तियारी स्थगन गर्न आफूहरु बाध्य भएको दावी गरे । उनले नगर नेतृत्वले उठाएकै सवाल विज्ञप्तीमा समेटिएको बताउँदै उनले यथाशीघ्र समाधान गर्न लागि पर्ने प्रतिवद्धता जनाए । पत्रलाई नगरप्रमुख तथा उपप्रमुख मीना उप्रेतीले संयुक्तरुपमा बुझेका थिए ।
विज्ञप्तीमा मागको बेवास्था गरिए स्वीकार्य नहुने उल्लेख गर्दै आगामी दिनमा थप विरोधका कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत दिइएको छ ।
ज्ञापन पत्रमा नेपाली काँग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु, माओवादी केन्द्र नगर सह–इन्चार्ज प्रकाश खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति भीम कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समावादी पार्टी नगर अध्यक्ष ओमप्रकाश खापुङ र नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु