‘परदेशीको पसिना’ मा तात्तातो बहस

2023-01-16 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा आइतबार परदेशीको पसिना कसरी लिने प्रतिफल विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।
हिकोला हेरिटेज होटलमा आयोजित कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, परदेशीको पसिना नामक पुस्तकका सम्पादक, विदेशबाट फर्किएका सुदिप र शिक्षक प्रमुख वक्ताको रुपमा सहभागि थिए ।
उनीहरुलाई पत्रकार पर्वत पोर्तेलले परदेशीको पसिनालाई कसरी देशमा सदुपयोग गर्न सकिन्छ ? विदेश पलायनलाई रोक्न रोक्न तथा जोखिम मुक्त बैदेशिक रोजगारी सिर्जना गर्न अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा प्रश्न गरेका थिए ।
सो अवसरमा सहभागीले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले देशले अर्थतन्त्र धानेको भएपनि सरकारले बैदेशिक रोजगारीमा जानेहरुलाई सौतेलो व्यवहार गरेको आरोप लगाएका थिए । विदेशमा काम गर्दा अन्य देशका नागरिक भन्दा नेपालीले सास्ती व्यहोर्नु परेको र अप्ठेरो परिस्थितिमा सरकारले खासै चासो नदिएको उनीहरुको आरोप थियो ।
‘बैदेशिक रोगजारी रहको विषय होइन,’ बैदेशिक रोजगारीबाट फर्किएका मेचीनगर–७ का सन्दिप ओलीले भने, ‘देशमा रोजगारीको अवसर नहुँदा परिवारलाई छोडेर बिदेसिनु आम नेपालीको बाध्यता हो ।’ विदेशी भूमिमा बगाएको पसिना स्मरण गर्दै ओलीले अब लहडको भरमा विदेश जाँदा जोखिम हुने भएकोले सीप सिकेर मात्र जानुपर्ने बताए ।
सो अवसरमा विद्यार्थी पुजा संग्रौला, शिक्षक दामोदर ढुंगेल लगायतले शिक्षा, कृषि, रोजगारी लगायतका क्षेत्रमा देखिएका समस्याको दिगो समाधान खोज्न स्थानीय सरकारले के गर्दैछ ? भनेर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई प्रश्न गरेका थिए ।


कार्यक्रममा सहभागीले बैदेशिक रोजगारीमा जानेहरुलाई सरकारले प्राथमिकताका साथ उनीहरुको क्षमता विकासको लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । बैदेशिक रोजगारीबाट आएको रेमिटेन्सले देशको आर्थिक भार धानेको बताउँदै अधिकांश बैदेशिक रोजगारीबाट फर्किएका र उनीहरुका परिवारले बैदेशिक रोगजारीलाई कसरी व्यवस्थित र जोखिम मुक्त बनाउने भन्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु