कनकाई खेलकुद प्रतिष्ठानले गर्याे, सन्थाल मेलाको आयव्यय सार्वजनिक

2023-02-04 मा प्रकाशित

कनकाई, २१ माघ ÷ कनकाई खेलकुद प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फुलपातीका दिन सञ्चालन गरेको जिल्लास्तरीय सन्थाल मेला२०७९ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु संचाालन गर्दै आएको प्रतिष्ठानले यस अघि बडादशैंको अवसरमा फूलपातीका दिन(असोज१६गते) कनकाई मावि सुरुङ्गाको खेल मैदानमा जिल्लास्तरीय प्रतियोगितात्मक सन्थाल नृत्यको आयोजना गरेको थियो । प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गर्ने जनाएको छ । यस किसिमको प्रतियोगिताबाट लोप हँुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

केही दाताहरुबाट आर्थिक सहयोगको रकम प्राप्त हुन ढिलासुस्ती भएका कारण आयव्ययको यथार्थ विवरण आउँन समेत ढिलाई भएको भन्दै प्रतिष्ठानको कार्यसमिति बैठकले आयव्ययलाई चुस्तदुरुस्त पारेको छ । प्रतिष्ठानको कार्यालयमा शुक्रबार सल्लाहकार समितिका सदस्य रामप्रसाद निरौलासहित कार्यसमितिको बैठकले आयव्ययको यथार्थ विवरणलाई लिपिवद्ध गर्दै सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आम्दानी तर्फ २ लाख ७५ हजार ५७ रुपैंया रहेको छ भने खर्च तर्फ २ लाख ७५ हजार ९ सय रुपैंया भएको जनाइएको छ । कार्यक्रमकालागि कनकाई नगरपालिकाबाट रु.१ लाख रुपैंया प्राप्त भएको थियो भने प्रथम पुरस्कारको राशि रु.३१ हजार कनकाई वडा नं.३ बाट साथै तेस्रो पुरस्कार रु.२१ हजार कनकाई वडा नं.२ बाट प्राप्त भएको जनाइएको छ । त्यस्तै कनकाई वडा नं.७ बाट रु.१५ हजार प्राप्त भएको कार्यक्रममा अन्य सबै वडाबाट रु.१० हजारका दरले आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए । कनकाई नगरपालिकासहित नगरका सबै वडा कार्यालयबाट कर कट्टी सहित रु.२ लाख २५ हजार५७ रुपैंया प्राप्त भएको जनाइएको छ ।

प्रतियोगितामा चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट रु.१८ हजार, पाँचौं पुरस्कार रु.१५हजार प्रिमियम कन्सल्टेन्सीका संचालक प्रज्ञान थपलिया र मौसम गिरीबाट प्राप्त भएको बताइएको छ । त्यस्तै हाल बैदेशिक रोजगारीमा ब्रुनाइमा रहेका कनकाई ३ निवासी मेघराज राईबाट रु.५ हजार, सुकेडाँगी सामुदायिक वनबाट रु.५ हजार साथै नगदी रसिदबाट रु.७ हजार गरेर कार्यक्रमकालागि आर्थिक सहयोग प्राप्त भएको बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने जियोड झर्ना सन्थाल क्लव गौरीगञ्जले नगद रु. ३१ हजार प्राप्त गरेको थियो भने द्वितीय हुने झापा गाउँपालिकाले नगद रु.२५ हजार , तृतीय हुने बाह्रदशी वडा नं.–३ राजगडले नगद रु.२१ हजार , चौथो हुने मदरगाछ सन्थाल झापा गाउँपालिका—७ ले नगद रु.१८ हजार र पाँचौ पुरस्कार बाह्रदशी वडा नंं.–७ डाँगीबारी सन्थाल क्लवले नगद रु.१५ हजारसहित प्रशंसा पत्र प्राप्त गरेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिएकी छन् । प्रतियोगितामा सहभागी अन्य विभिन्न १६ वटा समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिएको उपाध्यक्ष खरेलले जानकारी दिएकी छन् । कार्यक्रम व्यवस्थापनमा अन्य विविध शिर्षकमा खर्च भएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि प्रतिष्ठानले खेल मैदानको सरसफाईको कार्यलाई प्राथमिक्ताका साथ सम्पन्न गरेको जनाएको छ ।

“खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको छ । प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आगामी फागुन २४ गते समापन हुने गरी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको ७ औं संस्करण संचालन गर्नकालागि आवश्यक तयारी सुरु गरिसकेको प्रतिष्ठानका सहसचिव रमेशचन्द्र मैनालीले जानकारी दिए। नगर खेलकुद विकास समितिसँगको सहकार्यमा संचालन हुने प्रतियोगिताकालागि झापाका १० वटा महिला फुटबल टिमलाई पत्राचार समेत गरिसकिएको प्रतिष्ठानका सहसचिव मैनालीले बताए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु