“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने

2023-02-08 मा प्रकाशित

झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ ।

भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

भद्रपुरस्थित होटल आनीको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे ।

प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ । रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाउनेछ । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याच १० हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष ढकालले बताए । केही दिनमै खेलतालिका सार्वजनिक गरिने उनले बताए ।

कार्यक्रममा संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु