कचनकवलको बजेट५३ करोड ८९ लाखबढी , बजेट बहुमतले पारित

2020-07-16 मा प्रकाशित

कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि बुधवार छलफल भएको हो । पारित बजेटमा पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित कूल ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको रहेको छ ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा भएको गाउँसभा सुरू हुने वित्तिकै ४ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने बजेट ६० लाखबाट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।

कचनकवलको ४ र ७ नम्वर वडाध्यक्षसहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्षसहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् । काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिस्कार गरेपनि राप्रपाको बहुमत भएका कारण गाउँसभाले वजेट पारित गर्न सम्भव भएको हो ।

२ नम्बरका वडाध्यक्ष मेखबहादुर भट्टराइले बजेट पेश गर्न गाउँपालिका उपाध्यक्ष रोस्टममा जान लाग्दा कार्यपालिका बैठकमा भएको सहमति विपरित अध्यक्ष, उपाध्यक्षले बजेट तयार गरेकोप्रति आपत्ति जनाउँदै विपक्षी दल भनेर विभेद गरेको भनी गाउँसभा बहिस्कारको घोषणा गरेका थिए ।

गाउँसभा बहिस्कार गर्ने वडाध्यक्षहरूमा ४ नम्वरका वडाध्यक्ष प्रमानन्दसिंह रावजंशी, ६ नम्वर वडाध्यक्ष कूलबहादुर कार्की र ७ नम्वरका वडाध्यक्ष भरतकुमार राजवंशी रहेका छन् । त्यसैगरी नेपाली काँग्रेस र नेकपाबाट विजयी वडा सदस्यहरूले पनि राप्रपामय बजेट बनाएको भन्दै वडाध्यक्षहरूसँगै बहिस्कार गरेका थिए ।

बजेट बहिस्कार बारे प्रष्ट्याउँदै वडानम्वर ६ का अध्यक्ष कुलबहादुर कार्कीले कार्यपालिका बैठकमा एक–एक करोड बजेट मागिएकोमा प्रत्येक वडालाई ६० लाख दिने सहमति गरिएको बताए । तर सहमति तोडेर अध्यक्ष–उपाध्यक्षले बजेट पारित गर्ने बेला १० लाखमा झारो टारेको उनको आरोप छ ।

यस्तै वडानम्वर ४ का अध्यक्ष प्रमानन्दसिंह राजवंशी गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई जन्म दर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस गर्ने मात्र बनाएर विकास विहिन भूमिकामा ल्याउन खोजेको आरोप लगाए । उनले वडाको सन्तुलित विकासका लागि टोलटोलबाट ६० लाखका योजना वडा सदस्यसहित वडाध्यक्षहरूले तय गरेको भए पनि अन्तिममा बजेट कटौती गरेपछि बहिस्कारको विकल्प नभएको सुनाए ।

वडाध्यक्षहरुको सभा बहिस्कार र आरोपबारे सोधिएको जिज्ञासामा गाउँपालिकाका अध्यक्ष आलमले अघिल्लो वर्ष दीर्घकालिन आयोजना अन्तरगत भएको १० करोड रुपैयाँ खर्च वापतको रकम तिर्नुपर्ने बाध्यताले वडामा बजेट कटौती गर्नुपरेको बताउँछन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार तथा संघीय सरकारले दिने भनेको अनुदान घटेपछि सेही अनुदानका आशमा निर्माण गरिएका आयोजनाका रकम यस वर्ष तिनुपर्ने बाध्यता आइपरेकाले वडामा बजेट घटाउनु परेको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु